राजनिती

पार्टीको आन्तरिक कमजोरीले यो अवस्था आयो, वैचारिक पुनर्गठन जरुरी छ : शंकर पोखरेल

By अर्जुन भट्टराई •

पार्टीको आन्तरिक कमजोरीले यो अवस्था आयो, वैचारिक पुनर्गठन जरुरी छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आइतबार पार्टीभित्रको आन्तरिक कमजोरीलाई खुलेर स्वीकार गरे र अब वैचारिक पुनर्गठन अपरिहार्य रहेको बताए । एमाले लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको ‘मिशन पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रममा नेता–कार्यकर्तासमक्ष बोल्दै पोखरेलले यो स्वीकारोक्ति गरेका हुन् । उल्लेखनीय छ कि धेरै कार्यक्रममा पोखरेल नेतृत्वको कमजोरी अस्वीकार गर्ने नेताका रूपमा चिनिन्थे ।

‘हाम्रै कमजोरीले यो अवस्था आएको हो । कमजोरी कहाँ छन् भन्ने सूचना पनि आएकै थियो, तर त्यसलाई समयमै सुधार गर्न सकिएन । अब वैचारिक पुनर्गठनको आवश्यकता छ भन्न हिचकिचाउनु पर्दैन,’ उनले भने, ‘काम नगरेर पार्टीलाई सुधार गर्न सकिन्न । यो पार्टी जीवनमा सबैभन्दा ठूलो पराजय हो । कार्यकर्तामा चरम निराशा छ ।’

उनले पार्टी शुद्धीकरणसहितको रूपान्तरणका लागि तयार रहेको पनि जनाए । ‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौँ, उनीहरू हामीसँग रहेनन् । भूमिहीनले विश्वास गरेनन्, विदेश गएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार नै भत्कियो,’ उनले भने, ‘उत्पीडित वर्गको नेतृत्व युट्युबरले गरे । विद्यार्थी, किसान र शिक्षकले पनि हामीलाई विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशन कुर्नुभन्दा आफैँले बुझेर योजना बनाई काम गर्नुपर्छ ।’

पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टीका राम्रा कामहरूलाई नकारात्मक रूपमा चित्रण गरिएको गुनासो पनि गरे । ‘एउटा समय आयो, हाम्रा राम्रा कुरा पनि सुन्नै नचाहने अवस्था बन्यो । सहरिया, नवयुवा, विदेशमा बसेका र सुकुम्बासीहरू हामीबाट टाढिएका छन् भनेर स्थानीय चुनावपछि नै थाहा भएको थियो । त्यही आधारमा मिशन ग्रासरूट चलायौँ र त्यो सफल पनि भयो । तर युवाका लागि जे गर्ने भनेका थियौँ, त्यो हुन सकेन, हामी असफल भयौँ,’ उनले भने ।

उनले जनताको मनोभावना नबुझिनु, समस्या सही पहिचान नहुनु र प्रतिस्पर्धाको सामना गर्न नसक्नु नै मुख्य कमजोरी रहेको बताए । ‘सरकारमार्फत पार्टी बलियो बनाउन खोज्यौँ, तर वर्ग सङ्घर्षलाई बुझ्न सकेनौँ । हामी जनताकहाँ जानुको सट्टा जनता हामीकहाँ आउने बनायौँ । यो कार्यशैली उल्टो भयो, हामी जनतामुखी होइन सत्तामुखी भयौँ ।’

लुम्बिनी प्रदेशमा नयाँ गठबन्धन बन्नुको सन्दर्भमा उनले नेपाली कांग्रेस नै तयार नभएको बताए । ‘हामी काङ्ग्रेससँग मिल्ने पक्षमा थियौँ, तर उनीहरूबिच सहमति हुन सकेन । नेतृत्व हेरफेर नगर्ने भनेको उनैले हो, बजेटअघि पनि हेरफेर गर्न तयार भएनन् । यस अर्थमा यो बाध्यताको परिणाम हो,’ उनले भने ।

अन्तमा, महासचिव पोखरेलले वर्तमान सरकारको जग लोकप्रियतावाद र अराजकतावादमा आधारित रहेकाले त्यो सन्देश जनस्तरमा पुर्‍याउनुपर्ने बताए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.