खेलकुद

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडी भिड्ने

By अर्जुन भट्टराई •

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडी भिड्ने

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा आगामी साउन १३ देखि १५ गते (जुलाई २९, ३० र ३१) सम्म ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ आयोजना हुँदैछ। बुढानीलकण्ठ–३ स्थित मिस्टिक क्लबमा हुने यो प्रतियोगिता नेपाल मिक्स बक्सिङ एसोसिएसनले बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गर्दैछ।

आइतबार बुढानीलकण्ठ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइयो। सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा विशेष रूपमा उपस्थित थिए। आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन साउन १३ गते (जुलाई ३०) बिहान ११ बजे हुनेछ।

नेपाल मिक्स बक्सिङ एसोसिएसनका अध्यक्ष राजेश तामाङका अनुसार यस प्रतियोगितामा नेपालसहित जम्मा ११ देशका खेलाडी सहभागी हुनेछन्। नेपालका अतिरिक्त भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अजरबैजान, घाना, अमेरिका, जर्मनी, चीन र चिलीका खेलाडी प्रतिस्पर्धामा उत्रनेछन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले लगानी बढाउँदै लगेको बताए। उपप्रमुख अनिता लामाले बुढानीलकण्ठलाई खेलकुदमैत्री नगरका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै खेलकुदलाई नगरको मेरुदण्डका रूपमा अघि बढाइने बताइन्।

आयोजकका अनुसार यो प्रतियोगिताले नेपालमा मिक्स बक्सिङको विकासमा टेवा पुर्‍याउनुका साथै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने र खेल पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने अपेक्षा राखिएको छ। नेपाल मिक्स बक्सिङ एसोसिएसनले यसअघि एसियन मिक्स बक्सिङ च्याम्पियनसिप समेत सफलतापूर्वक आयोजना गरिसकेको छ। यस पटकको विश्वस्तरीय आयोजनाले नेपालको अन्तर्राष्ट्रिय खेलकुद छवि अझ सुदृढ बनाउने आयोजकको विश्वास छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.