काठमाडौं । नेपालको जलस्रोत क्षेत्रको विकास, सम्भावना र जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर लेखिएको पुस्तक ‘नेपालको जलस्रोत’ आइतबार सार्वजनिक भएको छ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विशेष समारोहमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित अन्य विशिष्ट अतिथिहरूले पुस्तकको लोकार्पण गरे। यादव समारोहका प्रमुख अतिथि थिए।
जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवले नेपाली र अङ्ग्रेजी दुवै भाषामा यो पुस्तक लेखेका हुन्। पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ र दिगो विकासका पक्षहरूलाई तथ्य र विश्लेषणसहित प्रस्तुत गरिएको लेखकले बताए।
पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुकमध्ये एक भए पनि यस सम्पदाको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताए। उनले जलस्रोतलाई केवल ऊर्जा उत्पादनमा मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग र वातावरण संरक्षणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति बनाउन जोड दिए।
लेखक महाजन यादवले यो पुस्तक तयार पार्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए। पुस्तकमा जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र चुनौतीसम्मको विस्तृत विश्लेषण समेटिएको उनले जानकारी दिए।
आयोजकका अनुसार यो पुस्तकले जलस्रोत क्षेत्रमा नीति निर्माण, अध्ययन र अनुसन्धानका लागि महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी र सञ्चारकर्मीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
