राजनिती

गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा

By अर्जुन भट्टराई •

गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवं संगठनका पूर्वनेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्।

‘पार्टी रुपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै लामाले नेपाललाई विदेशी शक्तिहरूले गिद्धे नजरले हेर्ने गरेको दाबी गरिन्। उनका अनुसार पूर्व र पश्चिमतर्फका शक्तिहरूले नेकपा एमालेले अघि सारेको कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिकालाई मन नपराएको र यसलाई चिर्नुपर्ने आवश्यकता छ।

उनले भनिन्, ‘देश-विदेशी शक्तिहरूले नेपाललाई गिद्धे नजरले हेरेका छन्। पूर्व र पश्चिमबाट एमालेलाई र कम्युनिस्ट पार्टीको अगुवाइ गर्ने एमाले हो भन्ने कुरालाई मन परिरहेको छैन। त्यसकारण यो कुरालाई चिर्नुपर्छ।’

लामाले एमालेले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेन्डाहरू कमजोर नरहेको बताउँदै पार्टीको कार्यदिशा कार्यान्वयन र नेतृत्वमा देखिएका कमजोरीबारे भने आत्मसमीक्षा गर्नुपर्ने धारणा राखिन्।

उनले समयअनुसार जनताको बहुदलीय जनवाद (जबज), माक्र्सवाद र नेतृत्व शैलीलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताइन्। साथै, अबको नेतृत्व युवाबाट, विशेषगरी अनेरास्ववियुका पूर्वअध्यक्षहरूमध्येबाट आउन सक्ने उल्लेख गरिन्।

पछिल्लो समय धेरै युवा विदेशिन बाध्य भएको र पार्टीमा काम गर्ने इच्छा हुँदाहुँदै पनि निराश भएर टाढिनुपर्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। पार्टीभित्र पहुँच र गुटको आधारमा अवसर पाउने प्रवृत्ति बढेको बताउँदै त्यसलाई सुधार गर्नुपर्नेमा उनले जोड दिइन्।

लामाले नेकपा एमाले लोकतन्त्रको हितमा अघि बढ्ने र इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टीका रूपमा स्थापित हुनुपर्ने बताउँदै गुटगत स्वार्थभन्दा माथि उठेर काम गर्न आह्वान गरिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.