राजनिती

चैते धान र सुख्खा धान अनुसन्धानमा जोड दिन मन्त्री चौधरीको निर्देशन

By अर्जुन भट्टराई •

चैते धान र सुख्खा धान अनुसन्धानमा जोड दिन मन्त्री चौधरीको निर्देशन

जनकपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन धनुषाको हर्दिनाथ स्थित कृषि अनुसन्धान केन्द्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूलाई निर्देशन दिएकी छन्।

दुई दिने धनुषा भ्रमणमा रहेकी मन्त्री चौधरीले आइतबार हर्दिनाथ कृषि अनुसन्धान केन्द्रका विज्ञहरूसँग भेट गरी यस क्षेत्रको कृषि उत्पादन तथा अनुसन्धानबारे जानकारी लिइन्। सो क्रममा उनले मधेश प्रदेशको कृषि क्षेत्रमा विद्यमान समस्याहरू औंल्याउँदै अनुसन्धानकर्ताहरूलाई चैते धान उत्पादनमा विशेष ध्यान दिन आग्रह गरिन्।

मधेश प्रदेशमा सिँचाइको गम्भीर समस्या रहेकाले कम पानीमा उत्पादन हुन सक्ने सुख्खा धानको अनुसन्धानमा जोड दिन पनि मन्त्री चौधरीले विज्ञहरूलाई सुझाव दिइन्।

उनले हर्दिनाथबाट उत्पादन हुने हर्दिना धानको बीउ उत्कृष्ट भए पनि हाल जम्मा ३५ प्रतिशत किसानले मात्र त्यसको प्रयोग गर्दै आएको उल्लेख गर्दै, अधिकतम किसानले सो बीउ प्रयोग गर्न प्रोत्साहित हुने वातावरण तयार गर्न अनुसन्धान केन्द्रलाई निर्देशन दिइन्। साथै, किसानलाई बीउ उत्पादन, मल र बजार व्यवस्थापनलगायत सम्पूर्ण सुविधा एकै प्याकेजमा उपलब्ध गराउने गरी काम अघि बढाउन पनि उनले सुझाव दिइन्।

बजेटको अभावलाई मात्र समस्याको रूपमा प्रस्तुत गर्नुको साटो विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था र विभागहरूको सदस्यता मार्फत आफैं बजेट जुटाउने पहल गर्नुपर्ने मन्त्री चौधरीको भनाइ छ।

मन्त्री चौधरी दुई दिनदेखि धनुषाका विभिन्न कृषि सहकारी संस्था, कृषि उत्पादन संस्था र किसानसँग प्रत्यक्ष जोडिएका संस्थाहरूमा पुगेर किसानका समस्या र वास्तविक अवस्थाबारे जानकारी लिँदै आएकी छन्। उनले मधेश प्रदेशका किसान तथा कृषि उत्पादनलाई थप गुणस्तरीय बनाउन सरकारले विशेष ध्यान दिने बताएकी छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.