राजनिती

एमबीबीएस प्रश्नपत्र चुहावट : शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ, कार्यदल गठन ढाकछोप हो — ठाकुर गैरे

By अर्जुन भट्टराई •

एमबीबीएस प्रश्नपत्र चुहावट : शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ, कार्यदल गठन ढाकछोप हो — ठाकुर गैरे

काठमाडौं । नेकपा (एमाले)का नेता ठाकुर गैरेले एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनले सरकारले कार्यदल बनाएर यो घटनालाई ढाकछोप गर्न खोजिरहेको आरोप पनि लगाएका छन्।

गैरेले ‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक एक कार्यक्रममा बोल्दै यी कुरा उठाए। उनले भने, ‘नेपालमा एमबीबीएसको प्रश्नपत्र लिक भएको छ। शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछ, सरकार उम्किन खोज्दैछ।’

भारतमा शिक्षा क्षेत्रसँग सम्बन्धित आन्दोलनका कारण त्यहाँका शिक्षामन्त्रीले राजीनामा दिनुपरेको उदाहरण दिँदै गैरेले नेपाल सरकारको कदमको आलोचना गरे।

यसैगरी, गैरेले गत फागुन २१ गते भएको निर्वाचनपछि हालसम्म एमालेको केन्द्रीय कमिटी बैठक बस्न नसकेकोमा गहिरो असन्तुष्टि जनाए। उनले भने, ‘फागुन २१ मा चुनाव भएको हो। आज साउनको १० मा छौं। एमाले जस्तो पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। किन चुनाव हार्यौं भनेर समीक्षा गर्नुपर्नेछ। तर यो भन्दा बिडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ?’

वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गर्दै गैरेले नेपाल–भारत सीमा विवादको विषयमा सरकारले नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोजिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसदमा यस विषयमा गरेको उल्लेखबारे सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको उनको भनाइ छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.