राजनिती

एमाले अझै प्रहारको निशानामा छ : महासचिव पोखरेल

By अर्जुन भट्टराई •

एमाले अझै प्रहारको निशानामा छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्र दृष्टिकोणले हेरेर समीक्षा गर्नुपर्ने बताएका छन्।

नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘आलोचनाबाट नै हामीलाई थाहा हुन्छ — कहाँ सुधार गर्नुपर्छ।’

एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिस्ट देख्नुभएन, भदौ २३ र २४ गते सडकमा पछार्ने काम पुँजीवादी साम्राज्यवादीहरूले गरे — किनकि उनीहरूका नजरमा हामी धेरै कम्युनिस्ट थियौं।’

पोखरेलले थपे कि एमाले एक पक्षका लागि कम्युनिस्ट हुन नसकेको र अर्को पक्षका लागि कम्युनिस्ट भएकै कारण पीडित भएको हो। उनले भने, ‘कमजोरीबाट कोही पनि मुक्त छैन। हामीभित्र पनि कमजोरी छन्, तर सफलताका सबल पक्षहरू पनि छन् — र त्यसैको मार खेपिराखेका छौं। केही हुँदैन थियो भने शत्रुहरू पनि हुँदैनथे होलान्।’

महासचिव पोखरेलले एमाले अहिले पनि प्रहारको निशानामा रहेको दाबी गर्दै भने, ‘हामी अहिले पनि प्रहारको निशानामै छौं, प्रहार भइरहेकै छ। हाम्रो अस्तित्व र भविष्यमाथि नै चुनौती खडा गर्ने काम भइरहेको छ।’

अन्तमा उनले पुँजीवादी र साम्राज्यवादी शक्तिका लागि एमाले समस्या नभए यति प्रहार किन भइरहेछ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा हुनुपर्ने आवश्यकतामा जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.