काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको तयारी गर्दा आफू करिब छ वर्षसम्म नरबहादुर कर्मचार्यको संरक्षणमा बसेको र नियमित रूपमा उनीसँग सल्लाह लिने गरेको स्मरण गरेका छन्।
शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘जनयुद्धको तयारीका सबै कुरा म कमरेड नरबहादुर कर्मचार्यलाई भन्ने गर्थेँ। उहाँ बडो रुचिपूर्वक सुन्नुहुन्थ्यो। साँच्चै नेपालमा जनयुद्ध हुन्छ त ? भन्ने उहाँको जिज्ञासा हुने गर्दथ्यो। मैले सबैजसो सल्लाह उहाँसँग लिने गर्थेँ, उहाँले पनि सकेको सुझाव दिनुहुन्थ्यो।’
प्रचण्डले कर्मचार्यलाई जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा सम्झँदै उनी कम्युनिस्ट आन्दोलनको एकताका लागि सधैँ दृढ रहेको बताए। एकता केन्द्र गठन हुँदा कर्मचार्य निकै खुसी भएका थिए, तर पछि विभाजन हुँदा दुःखी बनेका थिए।
प्रचण्डले कर्मचार्यसँग जोडिएको एउटा भावुक प्रसंग पनि सुनाए। उनले भने, ‘कमरेड नरबहादुर कर्मचार्यले मनपर्ने नेता को भन्दा ‘प्रचण्ड’ भन्नुभएको थियो। त्यो सामान्य भनाइ थिएन, त्यसभित्र ठूलो विचार र भावना थियो, म त्यो कहिल्यै बिर्सिन्नँ।’
नेपालका प्रथम कम्युनिस्ट महासचिव पुष्पलाल श्रेष्ठका विचार इतिहासले सही सावित गरिसकेको उल्लेख गर्दै प्रचण्डले अहिले कम्युनिस्ट आन्दोलनमा पुष्पलालप्रति कुनै विमति नरहेको बताए। कर्मचार्य पनि अन्तिम समयसम्म क्रान्तिकारी धारमै अडिग रहेको उनले स्मरण गरे।
हालको अवस्थाबारे बोल्दै प्रचण्डले भने, ‘अहिले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा कमरेड पुष्पलाल र कमरेड नरबहादुर कर्मचार्यजस्ता नेताहरूलाई सम्झँदै कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्ने अवस्था आएको छ।’
प्रचण्डले यस्ता श्रद्धाञ्जलि कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको पुनर्गठन र देशमा देखापरेका निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाउने अवसरका रूपमा लिनुपर्ने बताए।
