राजनिती

मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता, द्विपक्षीय सहयोगका विषयमा छलफल

By अर्जुन भट्टराई •

मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता, द्विपक्षीय सहयोगका विषयमा छलफल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

मन्त्रालयमा भएको यस भेटमा नेपाल र चीनबीचका द्विपक्षीय सहयोगका विभिन्न विषयमा गहन छलफल भयो।

विशेष गरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित नेपाल सहायता परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, सोही अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल प्रयोगशाला स्थापना र भूमि प्रशासनको डिजिटल रूपान्तरणजस्ता महत्त्वपूर्ण विषयमा दुवै पक्षबीच विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा राजदूत झाङ माओमिङले मन्त्रालयले पहिलो १०० दिनमा हासिल गरेका उपलब्धिको प्रशंसा गरे। उनले सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण र सुशासन प्रवर्द्धनका क्षेत्रमा मन्त्रालयले चालेका कदमहरू प्रभावकारी रहेको बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.