राजनिती

मधेस प्रदेशका १० पालिकामा किसानको खेतसम्म पुग्ने कृषि सेवा : मन्त्री चौधरी

By अर्जुन भट्टराई •

मधेस प्रदेशका १० पालिकामा किसानको खेतसम्म पुग्ने कृषि सेवा : मन्त्री चौधरी

धनुषा । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मधेस प्रदेशका कम्तीमा १० वटा पालिका छनोट गरी त्यहाँका किसानको खेतसम्म प्रत्यक्ष कृषि सेवा पुर्याउने योजना सार्वजनिक गरेकी छिन्।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ–प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो जानकारी दिइन्। ती पालिकाहरूलाई नमूना कार्यक्रमका रूपमा विकास गर्दै कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक (अर्गानिक) खेतीलाई प्राथमिकतामा राखिने उनले बताइन्।

मन्त्री चौधरीका अनुसार ती पालिकाहरूमा उत्पादन वृद्धि, प्राविधिक सेवा, तालिम, परामर्श र प्रविधि हस्तान्तरणलाई विशेष जोड दिइनेछ। अनुसन्धानबाट प्राप्त नतिजा सिधै किसानको खेतसम्म पुर्याउन र आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी दिन एकीकृत कार्यक्रम सञ्चालन गरिने उनले स्पष्ट पारिन्।

उनले नीति निर्माणभन्दा पनि कार्यान्वयन पक्षलाई अब विशेष प्राथमिकता दिनुपर्ने बताउँदै प्राङ्गारिक खेतीमार्फत माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणालीको विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

साथै मन्त्री चौधरीले कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र स्रोत–साधनको उचित परिचालन अनिवार्य रहेको बताउँदै प्रदेश सरकारबाट प्राप्त सुझावलाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.