काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्थापक नेताहरूको योगदान नयाँ पुस्तासम्म पुर्याउन इतिहासको संरक्षण अपरिहार्य रहेको जोड दिए।
उनले पुष्पलाल स्मृति प्रतिष्ठान परिसरमा रहेको पुष्पलालको सालिक तोडफोड गरिएको र दुर्लभ दस्तावेज तथा हस्तलिखित सामग्री जलाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गरे। यस कारण यस वर्ष फोटोमा माल्यार्पण गरेर मात्र स्मृति दिवस मनाउनुपरेको उनले बताए।
नेपालले नरबहादुर कर्माचार्यले पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै संस्थापक नेताहरूको सही इतिहास अभिलेखीकरण गर्नु आजको आवश्यकता रहेको बताए।
उनले इतिहास लेख्ने र संरक्षण गर्ने संस्कृतिको अभाव रहेको औँल्याउँदै महत्त्वपूर्ण राजनीतिक घटनाका साक्षी नेताहरूले आफ्ना अनुभव लिखित रूपमा छाड्नुपर्ने बताए। उनका शब्दमा, ‘यो स्मृतिमा रहेका कुराहरू नोट भएनन् भने त्यत्तिकै हराएर जान्छन्। व्यक्तिहरू बितेपछि घटनाक्रम पनि सँगै हराउने रहेछन्। त्यसैले इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूले आफ्ना अनुभव लेखेर छाड्नुपर्छ।’
उनले तुलसी गिरी, मनमोहन अधिकारी र तुलसीलाल अमात्यलगायत नेताहरूलाई पटक–पटक आफ्ना अनुभव अभिलेख गर्न आग्रह गरेको सम्झना गर्दै धेरै ऐतिहासिक सामग्री समयमै सुरक्षित गर्न नसक्दा हराएकोमा दुःख व्यक्त गरे।
रौतहट जिल्लाको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गर्दै उनले त्यहाँ भएका राजनीतिक, किसान आन्दोलन तथा कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित घटनाहरू व्यवस्थित रूपमा अभिलेख गर्नुपर्ने बताए।
कम्युनिष्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गर्दै उनले आन्दोलनलाई पुनर्जीवित गर्न एकता, आत्मसमीक्षा र नयाँ उत्साह आवश्यक रहेको बताए। उनले भने, ‘आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ। घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटकाएर फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
कार्यक्रममा उनले नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता नरबहादुर कर्माचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको योगदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताए।
