रामेछाप । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन्।
शनिबार मन्थलीमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले सरकारले विगतमा पनि काम गरेको भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गर्दै देखिएका समस्याको छिटो समाधान गर्न सरकार सक्रिय रहेको जानकारी दिइन्। सीमित स्रोत–साधनलाई व्यवस्थित रूपमा परिचालन गरी विकासका कामलाई गति दिने दिशामा सरकार केन्द्रित रहेको पनि उनले बताइन्।
मन्त्री गौतमले देशको विकासका लागि नेतृत्व तह इमानदार हुनुपर्नेमा जोड दिँदै कर्मचारीतन्त्रमा देखिएका कमजोरीलाई पनि नियन्त्रण गरिने बताइन्। ‘सीमित ढुकुटीको इमानदारीपूर्वक उपयोग गर्दै सामूहिक रूपमा अघि बढ्न सके धेरै काम गर्न सकिन्छ,’ उनले भनिन्।
कानून निर्माण र सुधारका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै मन्त्री गौतमले आवश्यक कानूनी संशोधनका लागि सरोकारवालाहरूलाई सुझाव दिन आग्रह गरिन्। कानून सुधारसँगै विकास निर्माणलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै उनले सबैलाई आशावादी भएर अघि बढ्न अनुरोध गरिन्।
सोही कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षका लागि सरकारले एकमुष्ट बजेट व्यवस्था गरेको जानकारी दिँदै आवश्यक योजना लिएर मन्त्रालयमा आउने पालिका सभापतिलाई खाली हात नफर्काइने आश्वासन दिए।
मन्त्री लम्सालले बजेटको अभाव नरहेको स्पष्ट पार्दै स्थानीय तहका जनप्रतिनिधिलाई आवश्यक योजना र मागसहित मन्त्रालयमा आउन आग्रह गरे। पालिका केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने र पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने सरकारको प्रतिबद्धता पनि उनले दोहोर्याए। ‘बजेटको समस्या छैन, पार्टीका पालिका सभापतिहरूले प्रश्न उठाउने होइन, माग लिएर मन्त्रालयमा आउनु पर्यो,’ उनले भने।
