राजनिती

बागमती नगर जग्गा एकीकरण आयोजनालाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन

By अर्जुन भट्टराई •

बागमती नगर जग्गा एकीकरण आयोजनालाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले बागमती नगर जग्गा एकीकरण आयोजनालाई सम्पन्न भएका कामहरू, तिनको प्रभाव र बाँकी दायित्वसम्बन्धी लाभ–लागत तथा प्रभाव प्रतिवेदन ४५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा भएको आयोजना व्यवस्थापन उपसमितिको ३३औँ बैठकले अधुरा पूर्वाधार र सेवाका कारण स्थानीयवासी समस्यामा परेको निष्कर्ष निकाल्दै तथ्यमा आधारित प्रतिवेदन तयार गरी बाँकी काम चाँडो सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकमा डंगोलले आयोजनाको म्याद पटक–पटक थप्नेभन्दा बाँकी काम सकेर जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले प्रतिवेदनमा कानुनी, प्रशासनिक र प्राविधिक पक्षसमेत समेट्न निर्देशन दिइन्।

बैठकमा वडा नं. ६ र ८ का जनप्रतिनिधि तथा जग्गाधनी प्रतिनिधिहरूले खानेपानी, ढल र सडकलगायत आधारभूत पूर्वाधार अझै अधुरै रहेको र आयोजना ढिलो हुँदा स्थानीयवासी मर्कामा परेको गुनासो राखे।

आयोजनाका अनुसार हालसम्म वडा नं. ६ मा ९१.८२ प्रतिशत र वडा नं. ८ मा ९५.२ प्रतिशत विकसित घडेरीको स्थायी पुर्जा वितरण भइसकेको छ। अधिकांश सडक ढलान, ढल निर्माण, सडक बत्ती जडान र खानेपानी पाइप विस्तारको काम पनि सम्पन्न भएको जानकारी दिइएको छ।

बैठकले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गर्दै अधुरा निर्माण कार्यलाई तीव्रता दिने र आयोजना व्यवस्थित रूपमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.