काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ भदौ २३ र २४ गतेका घटनाबारे गहिरो वैज्ञानिक समीक्षा नगरी आजका राजनीतिक चुनौतीहरू सामना गर्न नसकिने बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले भदौ २३ र २४ गतेको घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप समेत देखिएको दाबी गरे।
उनले भने, ‘२०८२ भदौको २३ र २४ गते जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, त्यसमा वैदेशिक दबाब र हस्तक्षेप पनि देखियो। नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखाअगाडि देख्नुपर्यो। सायद सुगौली सन्धिपछि नेपालको इतिहासमा यस्तो निरीहता पढ्न पनि परेको थिएन।’
अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरूको गौरवशाली इतिहास स्मरण गर्दै प्रचण्डले अहिलेको यो अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाए। उनले भने, ‘हामीले सामन्ती निरंकुशतन्त्रविरुद्ध सशस्त्र संघर्ष, जनयुद्ध र जनआन्दोलनमार्फत नेपाली जनताको विद्रोहको तागत देखाएका थियौं। तर भदौ २३ र २४ गतेको घटनामा वामपन्थी दलहरू किन यति निरीह र शक्तिहीन भए? त्यसको समुचित र वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीहरूको सामना गर्न सकिँदैन।’
प्रचण्डले विगतमा कमीकमजोरीको समीक्षा र आत्मआलोचना हुँदै आए पनि यस पटक त्यसले मात्र नपुग्ने स्पष्ट पारे। उनले भने, ‘यो पटक सामान्य समीक्षा र आत्मआलोचनाले पुग्ने स्थिति छैन। हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौं।’
साथै, आफ्नै आँखाअगाडि नेपालका धरोहर र विभिन्न राजनीतिक दलका कार्यालयमा आगजनी तथा विध्वंस भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले त्यसका कारणबारे गहिरो विश्लेषण अपरिहार्य रहेको बताए।
