खेलकुद

नेदरल्यान्ड्ससँग ६ विकेटले हार, नेपालको विश्वकप छनोटको बाटो झन् कठिन

By अर्जुन भट्टराई •

नेदरल्यान्ड्ससँग ६ विकेटले हार, नेपालको विश्वकप छनोटको बाटो झन् कठिन

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। यस हारसँगै शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै प्रवेश पाउने नेपालको सम्भावना झन् कमजोर बनेको छ।

बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनमा सिमित भयो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन थपे। तर कुनै पनि ब्याटरले लामो र जिम्मेवारीपूर्ण इनिङ्स खेल्न नसक्दा नेपाल प्रतिस्पर्धात्मक स्कोर बनाउनबाट चुक्यो। सुरुआत पाएका ब्याटरहरूले त्यसलाई ठूलो स्कोरमा बदल्न नसक्दा टोली नियमित अन्तरालमा विकेट गुमाउँदै दबाबमा पर्यो। मध्यमक्रमले पनि अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपालको ब्याटिङ लाइनअप फेरि एकपटक ढल्यो।

जवाफमा उत्रिएको नेदरल्यान्ड्सले १ सय ५८ रनको लक्ष्य ४४.१ ओभरमा ४ विकेट मात्र गुमाएर सहजै पूरा गर्यो। कप्तान स्कट इडवार्डसले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै आफ्नो टोलीलाई जितको बाटोमा डोर्याए। नेपाली बलरहरू सुरुआतमै सफलता दिलाउन चुके र डच टोलीले खेलमाथि नियन्त्रण कायम राख्यो। स्पिन र तीव्र गतिका दुवै बलरले खासै प्रभाव छोड्न सकेनन्, फिल्डिङमा पनि कमजोरी देखियो।

उल्लेखनीय छ, नेपालले यसअघि मंगलबार नामिबियाविरुद्धको खेलमा पनि ठीक १ सय ५७ रनमै सिमित भएर हार बेहोरेको थियो। उक्त खेलमा नामिबियाले १ सय ५८ रनको लक्ष्य ३७.४ ओभरमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो। कप्तान जान फ्राइलिंकले अविजित ७८ र माइकल भान लिंगनले ५१ रन बनाएका थिए।

लगातार कमजोर ब्याटिङका कारण नेपाल लिग–२ को अंक तालिकामा पाँचौं स्थानमा झरेको छ। नेपालले ३० खेलबाट २४ अंक जोडेको छ। वहीँ नेदरल्यान्ड्स २९ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा छ। आठ टोली सहभागी यस प्रतियोगिताको शीर्ष चारभित्र पुगेर विश्वकप छनोटमा सोझै स्थान बनाउने नेपालको लक्ष्य अब झन् कठिन देखिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.