राजनिती

उद्योगमन्त्री यादव : बजेटमा समेटिएका आठ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

By अर्जुन भट्टराई •

उद्योगमन्त्री यादव : बजेटमा समेटिएका आठ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा उद्योग मन्त्रालयसँग सम्बन्धित आठवटा सुधार कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा काम गरिरहेको बताएकी छिन्।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन छलफलमा बोल्दै मन्त्री यादवले कानुनी तथा नीतिगत सुधारका कार्यक्रम तय कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन्। उनले भनिन्, ‘केही कार्यक्रमको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको छ, बाँकी कार्यक्रम पनि चरणबद्ध रूपमा अघि बढाइनेछन्।’

मन्त्री यादवले बजेटमा घोषित सुधार योजना सफल बनाउन अर्थ मन्त्रालयसँग प्राविधिक सहयोग र आपसी समन्वय आवश्यक रहेको धारणा पनि राखिन्। दुवै मन्त्रालयबीच निरन्तर सहकार्य कायम राखिने उनले स्पष्ट पारिन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित उक्त छलफलमा डा. वाग्लेले उद्योग मन्त्रालयअन्तर्गतका नीतिगत तथा कानुनी सुधारका काम तदारुकताका साथ अघि बढाउन आग्रह गरे। साथै, आवश्यक विज्ञ, स्रोत–साधन र प्राविधिक सहयोग उपलब्ध गराउन अर्थ मन्त्रालय तयार रहेको उनले बताए।

चालु आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनी ऐन संशोधन, दामासाहीसम्बन्धी ऐन परिमार्जन, उधारो असुली ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन निर्माणलगायत आठवटा प्रमुख कानुनी तथा नीतिगत सुधार कार्यक्रम समावेश छन्।

अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको नियमित अनुगमन गर्दै सम्बन्धित मन्त्रालयसँग प्रगति समीक्षा गर्ने कार्यतालिका समेत तयार पारेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.