राजनिती

विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

By अर्जुन भट्टराई •

विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपाका सह–संयोजक माधवकुमार नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिका सामु झुक्नैपर्ने मानसिकता त्याग्नुपर्ने बताएका छन् । उनले भने, ‘दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ । हाम्रो देशको हितको कुरा राख्नेबित्तिकै समुद्र टुटिहाल्दैन ।’

उनले यस्तो धारणा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा व्यक्त गरे ।

माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि तिनको आवश्यकता झन् बढी महसुस भएको बताए । उनले भने, ‘देशभक्त, लोकतन्त्रवादी, गणतन्त्रका हिमायती र संविधानका पक्षपोषक सबैले वामपन्थीहरूतिर आशाका नजरले हेरिरहेका छन् । आमजनताको पक्षमा आवाज बुलन्द होस् भन्ने अपेक्षा पनि वामपन्थीहरूबाटै गरिएको छ ।’

उनले अरूलाई मात्र दोषारोपण गरेर समस्या समाधान नहुने स्पष्ट पार्दै वामपन्थी शक्तिले आफ्नै कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘कहाँ हामी चुक्यौं, यसको समीक्षा गर्नुपर्छ । हाम्रा सोच, नीति, गतिविधि, व्यवहार र जीवनशैलीमा कहाँ–कहाँ त्रुटि रहे, सबैले खुला मनले बसेर छलफल गरौं ।’

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा बोल्दै नेपालले अनावश्यक रूपमा विदेशीलाई खुसी पार्ने प्रवृत्तिका कारण गलत निर्णयहरू स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले भने, ‘विदेशीहरूको स्वार्थलाई बुझेर सतर्क रहँदै संसारका अनुभवबाट सिकेर अघि बढ्नुपर्छ । राम्रा कामलाई राम्रो भन्न सक्नुपर्छ ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.