काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्ती देवी राईले देश हाल गम्भीर संकटमा रहेको बताउँदै जनअधिकार कमजोर बन्दै गइरहेकोमा गहिरो चिन्ता व्यक्त गरेकी छन्।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै राईले भनिन्, ‘साँच्चिकै संकटमा छ यो देश। आज जनअधिकारहरू गुम्दैछन्। त्यसकारण हामीले सोच्नैपर्छ। आज हरेक जनताले विकल्प खोजेका छन्।’
उनले नेपालको राजनीतिक इतिहासलाई सम्झँदै भनिन् कि २००७ सालमा जनताले आफ्नो अधिकारका लागि नेपाली कांग्रेसलाई रोजेका थिए। त्यसपछि २०४६/४७ सालमा पञ्चायती व्यवस्था ढाल्न र जनअधिकार सुरक्षाका लागि लडेका कारण जनताले कम्युनिष्ट शक्तिलाई विश्वास गरे। त्यस्तै, २०६२/६३ को जनआन्दोलनपछि पनि जनताले कम्युनिष्ट शक्तिलाई नै रोजे, जहाँ कमरेड प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले जनताको भरोसा पायो।
राईले अहिले पनि जनता विकल्पको खोजीमा रहेको बताउँदै पुराना र नयाँ दुवै राजनीतिक दलप्रति जनताको असन्तुष्टि बढ्दै गइरहेकोमा टिप्पणी गरिन्। उनले भनिन्, ‘आज पुरानो पार्टी र नयाँ पार्टीको एजेण्डाको नाममा जनताले नयाँ पार्टीलाई रोजे, तर त्यो पनि टिक्नेवाला छैन। पुरानो पार्टीले ३५ वर्ष त चलाए, तर नयाँ पार्टी १०० दिनमै बहुत दुःखपूर्ण भएको छ।’
