राजनिती

सिंहदरबारको दिवा शिशु केन्द्रको अनुगमन गरिँदै, पूर्वाधार सुधार र पुनर्संरचनाको प्रक्रिया अघि बढ्ने

By अर्जुन भट्टराई •

सिंहदरबारको दिवा शिशु केन्द्रको अनुगमन गरिँदै, पूर्वाधार सुधार र पुनर्संरचनाको प्रक्रिया अघि बढ्ने

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गरेकी छन्।

अनुगमनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव समेत सहभागी थिए। यस क्रममा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार र समग्र व्यवस्थापनको अवस्था नजिकबाट अवलोकन गरिन्।

केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था र त्यसलाई दिवा शिशु केन्द्रका लागि उपयोग गर्न सकिने सम्भावनाबारे पनि स्थलगत अवलोकन गरियो। उक्त भवनलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी उपयोगमा ल्याउने वा केन्द्रको आवश्यकताअनुसार पुनर्संरचना गर्ने विषयमा प्राविधिक अध्ययन गरेर अगाडि बढ्ने निर्णयबारे छलफल भयो।

मन्त्री बादीले प्रारम्भिक बाल स्याहार तथा संरक्षण सेवाको गुणस्तर सुधार्न सुरक्षित, सुविधासम्पन्न र बालमैत्री पूर्वाधार अपरिहार्य रहेको बताइन्। उनले दिवा शिशु केन्द्रको दीर्घकालीन आवश्यकता, सेवा विस्तार र बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर पूर्वाधार विकासका सम्भावित विकल्पमा तयारी अघि बढाउनुपर्नेमा जोड दिइन्।

अनुगमनका क्रममा भएको छलफलका आधारमा दिवा शिशु केन्द्रको पूर्वाधार सुधार र पुनर्संरचनासम्बन्धी विषयमा सम्बन्धित निकायबीच समन्वय गर्दै प्राविधिक अध्ययनको प्रक्रिया अगाडि बढाइने समझदारी भएको मन्त्रालयले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.