रामेछाप । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस बिहीबार उनकै जन्मथलो रामेछापको भँगेरीमा हर्षोल्लासका साथ मनाइयो।
नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा शहीद गंगालाल र पुष्पलालको सालिकामा पुष्पगुच्छा चढाएर उनीप्रति श्रद्धा व्यक्त गरियो। यो जानकारी एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले दिए।
कार्यक्रम नेकपा एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षता र नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा बोल्दै ढुङ्गेलले पुष्पलाललाई दूरदर्शी नेताका रूपमा स्मरण गरे। उनले भने कि नेपालमा लोकतन्त्र स्थापनाका लागि कम्युनिष्ट र कांग्रेस मिल्नुपर्छ भन्ने पुष्पलालकै दृष्टिकोणका कारण देशमा बहुदलीय व्यवस्था र गणतन्त्र प्राप्त भएको हो। बाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा बोल्दा पुष्पलाललाई गद्दार भनिए पनि समयक्रममा उनको सोच सत्य साबित भएको ढुङ्गेलले बताए।
ढुङ्गेलले अहिले फेरि नेपालमा बामशक्तिहरू एकजुट हुनुपर्ने बेला आएको बताउँदै वामपन्थीको बढ्दो लोकप्रियताकै कारण सामाजिक सञ्जालमार्फत आक्रमण भइरहेको आरोप लगाए। उनले भने, ‘को देशी–विदेशी शक्तिको जालमा पर्छन् हेर्दै जाउँला, तर नेकपा एमाले सबैलाई मिलाएर जानुपर्छ भन्ने मान्यतामा छ र त्यही अडानमा रहेको छ।’
ढुङ्गेलले एमाले जहाँ रूपान्तरण हुनुपर्छ त्यहाँ हुन तयार रहेको र देशको रक्षा, विकास तथा समृद्धिका लागि जस्तोसुकै त्याग गर्न पनि पछि नहट्ने स्पष्ट पारे।
कार्यक्रममा एमालेका प्रदेश कमिटीका नेताहरू, जनप्रतिनिधि, जिल्ला कमिटीका नेताहरू, जनसंगठनका नेताहरू तथा नगर, गाउँ र वडा कमिटीका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
