राजनिती

पुष्पलालको ४८औँ स्मृति दिवस: देशभर विभिन्न कार्यक्रम

By अर्जुन भट्टराई •

पुष्पलालको ४८औँ स्मृति दिवस: देशभर विभिन्न कार्यक्रम

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

पुष्पलालले विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेकपाको स्थापना गरेका थिए। यसभन्दा अघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए।

विसं १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोरा थिए। सहिद गंगालालका भाइ समेत रहेका पुष्पलालले प्रवासमा बसेरै नेकपाका गतिविधि सञ्चालन गरे।

उनले कार्ल माक्र्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण पनि गरेका थिए। नेपाली कांग्रेससहित प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गर्दै पञ्चायती व्यवस्था परास्त गर्नुपर्ने उनको मत थियो।

पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.