राजनिती

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड

By अर्जुन भट्टराई •

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक र झुटो प्रचार भइरहेको बताएका छन्।

बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताए।

उनले भने, ‘नेपालमा गणतन्त्र आएपछि विकसित भएका थुप्रै सकारात्मक उपलब्धिमाथि अत्यन्तै नकारात्मक ढंगले झुटो प्रचारको प्रहार गरिएको छ। भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गरिँदैछ।’

प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई केवल श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि र पुष्पलालको विचारअनुसार भएका परिवर्तनमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिएको बताए।

उनले भने, ‘यसपटक पुष्पलालप्रति श्रद्धा अर्पण गर्नुको अर्थ हाम्रो देशमा चलिरहेको प्रतिक्रान्तिको हावाविरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्प लिनु हो।’

साथै उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न सक्ने वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन तथा अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.