काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादनहरूको प्रमाणीकरण अब देशभित्रै हुने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसियसन नेपाल’का पदाधिकारीहरूसँग छलफल गरे।
छलफलमा पदाधिकारीहरूले अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण अत्यन्त महँगो पर्ने भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्नुपर्ने माग राखे। प्रधानमन्त्री शाहले यो मागलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
साथै, सरकारले अर्गानिक प्रमाणीकरणका लागि दिँदै आएको ७५ प्रतिशतसम्मको अनुदान हाल बन्द भएको भन्दै त्यसलाई पुनः सुचारु गर्न पनि पदाधिकारीहरूले आग्रह गरे। नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म सो अनुदान जारी राख्ने विषयमा प्रधानमन्त्री शाहले सकारात्मक मनोभाव देखाए।
प्रधानमन्त्रीले अनियन्त्रित रासायनिक मल र विषादीको प्रयोगमा नियन्त्रण गर्दै अर्गानिक कृषिलाई प्रवर्द्धन गर्न सरकारले आवश्यक कदम चाल्ने पनि बताए।
छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्यसहित एसोसियसनका सदस्यहरू सहभागी थिए।
