राजनिती

चुनावले मात्रै लोकतन्त्र सुनिश्चित हुँदैन : ओली

By अर्जुन भट्टराई •

चुनावले मात्रै लोकतन्त्र सुनिश्चित हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन् । उनले भने, विभिन्न देशमा चुनाव हुन्छन् तर त्यहाँ लोकतन्त्र हुँदैन ।

शनिबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरे ।

ओलीले २०८२ साल भदौ २३ र २४ गतेका हिंसात्मक घटनाप्रति कडा टिप्पणी गरे । उनले भने, ‘जनधनको क्षति, मार्ने-मराउने, आगजनी — यस्ता घटना नेपालको इतिहासमा कल्पना पनि गर्न सकिँदैनथ्यो । राणा शासनविरुद्धको संघर्षमा पनि यस्तो भएन, राणाहरूका घरमा आगो लगाइएन । २०६२/६३ को आन्दोलनमा पनि यस्तो भएन ।’

माओवादी आन्दोलनसँग तुलना गर्दै ओलीले भने, माओवादीले हिंसाको बाटो रोजे पनि समाजलाई आतंकको भयले नियन्त्रण गर्ने खालका गतिविधि गरेनन् ।

ओलीले वैधानिक सरकार र संविधानविरुद्ध अवैध तथा आपराधिक क्रियाकलाप भएको आरोप लगाउँदै प्रतिनिधिसभा विघटन र संविधानको व्याख्याप्रति पनि गम्भीर प्रश्न उठाए । उनले भने, ‘संविधानको धाराले जुन कुरा हुँदैन भन्छ, त्यही काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा भयो । अवैध सिफारिसमा जननिर्वाचित सांसद हटाएर संसद् बन्द गर्ने काम भयो ।’

देश, जनता, लोकतन्त्र, संविधान र सुशासनको रक्षाका लागि सबै राजनीतिक दलले सहकार्य गर्नुपर्ने अपिल गर्दै ओलीले भने, ‘सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाउनु भनेको होइन, तर काममा चाहिँ मिलौं, सहकार्य गरौं ।’

अन्त्यमा ओलीले प्रदेश सरकारहरूमा केही अन्योल देखिएको स्वीकार गर्दै यसको समाधान चाँडै गरिने बताए । उनले भने, ‘यो अस्पष्टतालाई हामी हटाउँछौं र प्रदेश तथा स्थानीय सरकारहरू स्पष्ट ढंगले सञ्चालन हुनेछन् ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.