काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय राजनीति हाल गम्भीर संकटको अवस्थामा रहेको बताउँदै देशको भविष्य, लोकतन्त्र, संविधान र गणतन्त्रप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले भने, ‘राष्ट्रिय राजनीति अहिले हामीले सोचेजस्तो सकारात्मक दिशामा अगाडि बढिरहेको छैन। संकटको अवस्थामा छ। भोलि के हुने हो भन्ने त्रास फैलिएको छ। देशकै भविष्यप्रति चिन्ता जागेको छ।’
उनले देशको अस्तित्व, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र परराष्ट्र नीतिमाथि प्रश्नचिह्न उठेको बताउँदै नेपाल कतै विदेशीहरूको खेलमैदान त भइरहेको छैन भन्ने गम्भीर चिन्ता रहेको उल्लेख गरे। ‘विदेशीहरूको खेलमैदान भएपछि नेपालीहरूको के हालत होला? हामी यसमा चिन्तित छौं,’ उनले थपे।
इरानलगायत विभिन्न देशका घटनाबाट नेपालले पाठ सिक्नुपर्ने बताउँदै उनले बुद्ध जन्मिएको शान्तिभूमि नेपाल शान्तिपूर्ण रूपमा रहन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको पनि औंल्याए।
‘अहिलेको सरकारको काम, गतिविधि र व्यवहारले जनतामा गम्भीर आशंका उत्पन्न गराएको छ। यस्तो अवस्थामा हाम्रो पार्टीले जिम्मेवार राजनीतिक शक्तिको रूपमा सजग रहनु आवश्यक छ। तमासा हेरेर बस्न मिल्दैन, चुनौतीको सामना गर्नुपर्छ,’ माधवकुमार नेपालले भने।
उनले देशको लोकतन्त्र, संविधान र गणतन्त्रमाथि कुनै षड्यन्त्र भइरहेको त छैन भन्ने प्रश्न जनस्तरमा उठ्न थालेको पनि बताए। जनतालाई ढुक्क बनाउने जिम्मेवारी सत्तारूढ पक्षको भए पनि सरकारकै गतिविधिले शंका बढाइरहेको भन्दै अन्य जिम्मेवार राजनीतिक दलहरूले पनि आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले स्पष्ट पारे।
