राजनिती

आत्महत्याको सोचमा पुगेका युवालाई गगन थापाको आह्वान: ‘त्यसो नगर साथी, हामी छौं’

By अर्जुन भट्टराई •

आत्महत्याको सोचमा पुगेका युवालाई गगन थापाको आह्वान: ‘त्यसो नगर साथी, हामी छौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले आत्महत्याको सोचमा पुगेका युवा तथा नागरिकलाई त्यस्तो कदम नउठाउन हार्दिक आग्रह गरेका छन्।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ को समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘कहीँ कतै कुनै युवकले, कुनै नेपालीले आर्थिक, सामाजिक वा जुनसुकै कारणले आफ्नो जीवन नै अन्त्य गरौं भन्ने सोच बनाइरहेको छ भने म कांग्रेसको सभापतिको तर्फबाट भन्न चाहन्छु — त्यसो नगर साथी, हामी छौं। हामी सम्हाल्छौं। एक्लै नसकिएला, मिलेर सक्छौं।’

उनले थपे कि यो कुरा उनी मात्र होइन, सिंगो नेपाली कांग्रेसले भन्न चाहेको हो र नागरिकको पीडामा साथ दिनु नै पार्टीको सबैभन्दा ठूलो जिम्मेवारी हो।

थापाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको सम्झना गर्दै भने कि बीपीका लागि नागरिकको दुःख सुन्नु र त्यसमा साथ दिनु कुनै अतिरिक्त काम थिएन, बरु त्यही राजनीतिको मूल काम थियो। उनले भने, ‘जहाँ जनताको दुःख छ, त्यो दुःखमा नपुग्ने कांग्रेस, कांग्रेस नै होइन। भोट मात्र माग्ने होइन, दुःख र पीडाको बेला देखिने कांग्रेस हुनुपर्छ।’

थापाले जानकारी दिए कि कांग्रेसले महासमिति बैठकबाट प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक काम र ५० प्रतिशत काम बृहत्तर समुदायका लागि गर्नुपर्ने निर्णय गरिसकेको छ। साथै विशेष महाधिवेशनबाट राष्ट्रिय पुनर्जागरण अभियान पनि पारित भइसकेको छ।

उनका अनुसार ‘जरा अभियान’ को समापनसँगै आजदेखि ‘नेपाली कांग्रेस फर नेसनल कज’ नामक नयाँ अभियान सुरु गरिएको छ, जसको मुख्य उद्देश्य नागरिकको कल्याण र उनीहरूको हकको पक्षमा काम गर्नु हो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.