काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीलाई सपथ ग्रहण गराए।
सपथ समारोहमा ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएकोमा खुसी व्यक्त गर्दै नीतिगत र संरचनागत सुधारका लागि काम गर्न निर्देशन दिए। उनले मन्त्रालयबाट आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
आयोगका अध्यक्ष डा. धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए। मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने र विद्युतको राष्ट्रिय खपत बढाउन सहजीकरण गर्ने उनको भनाइ थियो। उनले भने, ‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन र अभिभावकत्व हुनुपर्छ। मन्त्रालयसँग नजिकको समन्वयमा काम गर्छौं। यो टिमले निराश पार्दैन।’
आयोगका सदस्यहरूले पनि आफूहरू करिब २० वर्षदेखि यही क्षेत्रमा काम गरेको बताउँदै आफ्नो अनुभव र सिकाइलाई उपयोग गरेर नतिजामुखी काम गर्ने प्रतिबद्धता जनाए।
मन्त्री श्रेष्ठले नियामकीय निकायको हैसियतले मन्त्रालयअन्तर्गतका डिओई र एनईएलाई पनि आयोगले सुपरीवेक्षण गर्नुपर्ने बताए। साथै, विद्युत् प्राधिकरणको खरिद प्रक्रियाको कार्यतालिका बनाएर अनुगमन गर्न सुझाव दिए। उनले भने, ‘यो आयोगलाई सुशासनको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा लिएको छु। आयोगले सामाजिक न्यायलाई पनि ध्यान दिनुपर्छ, नीतिगत खाडललाई पुर्न योगदान गर्नुपर्छ र कानुनलाई पूर्वानुमानयोग्य बनाउनुपर्छ।’
मन्त्री श्रेष्ठले यस आयोगमार्फत ऊर्जासँग सम्बन्धित निकायहरूमा शासकीय सुधार ल्याउने चाहना राखेको पनि स्पष्ट पारे।
