सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले यो निर्णय गरेको जानकारी दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले दिए। उनका अनुसार नेपाली कांग्रेससँगको सहकार्य जारी राख्दै असार ३२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा सर्वसम्मत निर्णय भएको हो। यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि यही निर्णय गरिसकेको थियो।
नेकपाका ११ र नेपाली कांग्रेसका ५ जना गरी जम्मा १६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रहेका छन्।
कांग्रेसले आलोपालो सरकार सञ्चालनको सहमतिबाट मुख्यमन्त्री कँडेल पछि हटेको भन्दै नेकपासँग सत्ता साझेदारीको सहमति गरी अविश्वास प्रस्ताव दर्ता गराएको थियो। दुई दलबिचको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री पदका लागि अघि सारिएको छ। अविश्वास प्रस्ताव प्रदेशसभाबाट पारित भएमा मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन्।
कर्णाली प्रदेशमा हालसम्म नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका यामलाल कँडेलले सरकारको नेतृत्व गर्दै आएका थिए। गत साता कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि कर्णालीमा नयाँ गठबन्धनको समीकरण बन्न थालेको थियो। राजीनामा दिने मन्त्रीहरूमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह थिए।
