काठमाडौं । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय स्वाधीनता खतरामा परेको भन्दै सबै कम्युनिस्टहरू एकजुट भई प्रतिरोध गर्नुपर्ने आवाज उठेको छ। बिहीवार राजधानीको संवाद डबलीमा ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’ले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले बालेन सरकारले सीमा नाघेको भन्दै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिए।
७ घटकको संयुक्त मोर्चाका संयोजक सन्तबहादुर नेपालीले विगतमा कम्युनिस्टहरू नै सत्तामा रहँदा उनीहरूकै कमजोरीका कारण देश ‘घोर दक्षिणपन्थी’हरूको हातमा गएको आरोप लगाए। उनले बढ्दो वैदेशिक हस्तक्षेप र सरकारका जनविरोधी कदमविरुद्ध सबै कम्युनिस्ट एक हुनुपर्नेमा जोड दिए।
पुष्पलालको ४८औं स्मृति दिवसको अवसरमा नेकपाका संयोजक लोकनारायण सुवेदीले ‘वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको विरुद्ध प्रतिरोध आन्दोलनको सवाल र कमरेड पुष्पलाल’ विषयक कार्यपत्र प्रस्तुत गरे। उनले राष्ट्रिय स्वाधीनता जोगाउन सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू एकजुट हुनुपर्नेमा जोड दिँदै पुष्पलालको नीति र विचारको आवश्यकता झन् बढेको दाबी गरे। ‘लाखौं झुपडीको एकता नेपालको राष्ट्रियता हो भने, तिनै झुपडीको हकहित नै जनताको जनवाद हो’ भन्ने पुष्पलालको विचारलाई बुद्धको शान्ति र पञ्चशीलको सिद्धान्तसँग जोडेर अगाडि लैजानुपर्ने उनले बताए।
विशिष्ट अतिथिका रूपमा उपस्थित परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनता, जनस्वतन्त्रता र नेपालको परराष्ट्र नीति निर्माणमा पुष्पलालको विशिष्ट योगदान रहेको चर्चा गरे। एक पत्रकारको प्रश्नको जवाफमा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर संसदले एकैमतले पारित गरेको नेपालको राजनीतिक नक्सा कसैले हटाउन नसक्ने बताउँदै भने, ‘बालेनको केटाकेटी लहडले हटाउन कोशिस गरे गम्भीर राष्ट्रघात ठहर्छ।’
वरिष्ठ अर्थशास्त्री डा. डिल्लीराज खनालले वर्तमान सरकारले कर आतंक मच्चाएर जनतालाई त्रसित पारेको जिकिर गरे। उनले अहिलेसम्मका आन्दोलनहरूले नेपालको उत्पादन सम्बन्धमा आमूल परिवर्तन ल्याउन नसकेकाले देशको परनिर्भरता बढ्दै गई अर्थतन्त्र साम्राज्यवादको अधिनस्थ हुँदै गएको बताए।
वरिष्ठ अधिवक्ता डा. दण्डपाणी पौडेलले सुवेदीको कार्यपत्र वर्तमान समयका लागि अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई थप समृद्ध बनाएर शान्ति स्थापनामा उपयोग गर्नुपर्नेमा जोड दिए। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीशले शान्तिलाई वर्गीय दृष्टिकोणबाट बुझ्नुपर्ने बताउँदै, साम्राज्यवादले युद्ध मात्र थोपर्न सक्ने र शान्ति स्थापना केवल कम्युनिस्टहरूबाटै सम्भव हुने तर्क गरे।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले कार्यपत्रलाई सही ठहर्याउँदै साम्राज्यवादविरुद्ध सम्पूर्ण कम्युनिस्ट घटक एकजुट हुनुपर्नेमा जोड दिए। नेकपा (मार्क्सवादी–पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङले ‘किसानका समस्या हल नभई राष्ट्रका समस्या हल हुँदैन’ भन्ने पुष्पलालको भनाइलाई विशेष रूपमा स्मरण गरे। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल घटक नेकपाका सचिवालय सदस्य नारायण शर्माले पुष्पलालका विचार, नीति र सिद्धान्तलाई सही ढंगले बुझेर कार्यान्वयन गर्न सकिए मात्र नेपालको परिवर्तनलाई सार्थकता दिन सकिने बताए।
