राजनिती

मधेशमा पार्टी नबनाउँदा ठूलो क्षति हुन्छ : प्रचण्ड

By अर्जुन भट्टराई •

मधेशमा पार्टी नबनाउँदा ठूलो क्षति हुन्छ : प्रचण्ड

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टी सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।

बुधबार जनकपुरधाममा नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रचण्डले भने — मधेश प्रदेश विकास, राजनीति र सामाजिक दृष्टिले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्र दुवैका लागि यो प्रदेश अत्यन्तै महत्वपूर्ण छ।

उनले मधेशमा पार्टी राम्रोसँग संगठित हुन नसकेमा देश र कम्युनिष्ट आन्दोलनमा ठूलो दुर्घटना निम्तिन सक्ने बताउँदै संगठन विस्तार र एकतालाई सर्वोच्च प्राथमिकता दिन आग्रह गरे।

प्रतिनिधिसभा निर्वाचनको प्रसंगमा प्रचण्डले भने — चुनावअघिसम्म पार्टीको अवस्था सन्तोषजनक थियो, तर अन्तिम समयमा अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित नतिजा आउन सकेन। यस विषयमा पार्टीले गम्भीर समीक्षा गर्ने उनले जानकारी दिए।

पार्टी विस्तारका लागि नयाँ ढंगले अभियान सञ्चालन गरिने बताउँदै प्रचण्डले युवालाई नेतृत्वमा प्राथमिकता दिने घोषणा गरे। पार्टी समितिमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा संयोजक प्रचण्डले मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउँदै पार्टी एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.