राजनिती

कांग्रेस ‘बीपीवाद’बाट विचलित भयो, वैचारिक पुनर्जागरण जरुरी छ : गुरु बराल

By अर्जुन भट्टराई •

कांग्रेस ‘बीपीवाद’बाट विचलित भयो, वैचारिक पुनर्जागरण जरुरी छ : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी आफ्नो मूल वैचारिक जग ‘बीपीवाद’बाट बिस्तारै टाढिँदै गएको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको अवसरमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कांग्रेसले अब केवल बीपी कोइरालाको तस्वीरमा माला चढाउने परम्परामा सीमित नरही उनको राजनीतिक दर्शनलाई व्यवहारमा उतार्नुपर्ने जोड दिए।

बरालका अनुसार शान्ति प्रक्रिया, सत्ता बाँडफाँट र राजनीतिक सम्झौताका क्रममा कांग्रेसले बीपी कोइरालाका धेरै मूल्य–मान्यता व्यवहारमा कमजोर बनायो। त्यो त्यतिबेलाको परिस्थितिको माग हुन सक्ने स्वीकार गर्दै उनले अब भने पार्टी वैचारिक पुनरागमनको बाटोमा हिँड्नुपर्ने बताए।

आगामी १५औं महाधिवेशनलाई उनले नेतृत्व चयनको मात्र होइन, वैचारिक पुनर्जागरणको सुनौलो अवसरका रूपमा हेर्नुपर्ने धारणा राखे। ‘बीपीवादलाई पार्टीको नीति, घोषणापत्र र संगठनभित्र पुनःस्थापित गर्न सकेनौं भने कांग्रेसकै पहिचान संकटमा पर्न सक्छ,’ उनले भने।

बरालले बीपीको समाजवादलाई आजको सन्दर्भमा नयाँ ढंगले व्याख्या गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार हाल कांग्रेसभित्र पनि निजीकरण र खुला बजारलाई अत्यधिक प्राथमिकता दिने प्रवृत्ति बढेको छ, जसले सामाजिक लोकतन्त्रको मर्म कमजोर बनाइरहेको छ।

शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र आवासजस्ता आधारभूत सेवामा राज्यको भूमिका बलियो हुनुपर्नेमा उनले जोड दिए। ‘बीपीले निजी क्षेत्रलाई अस्वीकार गर्नुभएको होइन, तर जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा राज्यको दायित्व अपरिहार्य हुन्छ भन्ने मान्यता राख्नुभएको थियो,’ उनले बताए।

वर्तमान सरकारको आर्थिक नीतिप्रति पनि बरालले असन्तुष्टि जनाए। चुनावअघि सामाजिक लोकतन्त्रको पक्षमा उभिएका शक्तिहरू सरकारमा पुगेपछि शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोगसँग जोडिएका क्षेत्रमा करको भार बढाएको भन्दै उनले यसलाई वैचारिक विचलनको उदाहरणका रूपमा प्रस्तुत गरे। ‘राज्यले कमजोर वर्गलाई राहत दिनुपर्ने बेला थप आर्थिक बोझ सिर्जना गर्नु सामाजिक लोकतन्त्रको मर्मविपरीत हो,’ उनले भने।

लोकतन्त्रको वर्तमान अभ्यासप्रति पनि उनले प्रश्न उठाए। सामाजिक सञ्जालमा देखिने लोकप्रियता वा राजनीतिक उत्तेजनालाई आधुनिक लोकतन्त्र भन्न नमिल्ने उनको तर्क छ। ‘बीपीको लोकतन्त्र भनेको कसैको अधिकारमाथि अतिक्रमण नगरी सबै नागरिकले समान अवसर पाउने व्यवस्था हो। राज्यले न्यूनतम जीवनस्तर सुनिश्चित गर्नुपर्छ भन्ने दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ,’ उनले बताए।

कांग्रेसले वैचारिक स्पष्टता पुनःस्थापित गर्न नसके नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै जाने चेतावनी पनि बरालले दिए। पार्टीले कार्यकर्तादेखि जनतासम्म बीपीका विचारबारे व्यापक बहस सुरु गरेर मात्र त्यसलाई घोषणापत्र, नीति र भविष्यको संवैधानिक सुधारसँग जोड्न सकिने उनको धारणा छ। ‘बीपीलाई सम्झिने मात्र होइन, उहाँका विचारलाई राज्य सञ्चालनको आधार बनाउन सकियो भने मात्रै लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्याय बलियो बन्न सक्छ,’ उनले भने।

बीपी स्मृति दिवसको सन्दर्भमा आएको बरालको यो अभिव्यक्तिले कांग्रेसभित्र वैचारिक बहस पुनः तीव्र बनाउने संकेत गरेको छ। विशेषगरी महाधिवेशनको तयारी चलिरहेका बेला संगठनभन्दा बढी विचारलाई केन्द्रमा राख्नुपर्ने उनको सन्देश पार्टीभित्र चर्चाको विषय बन्ने देखिन्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.