काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलहरूले नागरिकका महत्त्वपूर्ण विषयमा पर्याप्त बहस गर्न नसकेको बताएका छन् ।
४४औं बीपी स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने कि बीपी कोइरालाले समावेशी लोकतन्त्रको अभ्यास केवल कुराकानीमा होइन, आफ्नो व्यवहार र कार्यमा देखाए ।
थापाका अनुसार बीपीको स्पष्ट मान्यता थियो कि सामाजिक न्याय, मानव कल्याण र सबै समुदायको सहभागिताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । विकासको प्रक्रियामा नैतिक मूल्य र नागरिकको हितलाई बेवास्ता गरिए दिगो विकास सम्भव नहुने सन्देश बीपीले आफ्नो राजनीतिक जीवनबाटै व्यवहारमा देखाएको उनले बताए ।
उनले भने, ‘सामाजिक न्यायलाई छाड्नु भयो भने, मानव कल्याणलाई छाड्नु भयो भने, नैतिक जिम्मेवारीलाई बेवास्ता गरियो भने विकास दिगो हुँदैन भनेर बीपीले कुरा मात्र गर्नुभएन, आफैं अभ्यास पनि गर्नुभयो ।’
दक्षिण एसियामै महिलाको राजनीतिक सहभागिता सीमित रहेका बेला बीपीले आफ्नो मन्त्रिपरिषद्मा महिलालाई ठाउँ दिएका थिए । त्यस्तै एक दलित नेतालाई पार्टीको महामन्त्री बनाएका थिए र विभिन्न जातजाति, भाषा तथा समुदायका प्रतिनिधिलाई संसद र मन्त्रिमण्डलमा समेटेका थिए ।
‘दक्षिण एसियामा कुनै महिलाले सरकारमा सहभागिताको अवसर नपाउँदै बीपीले आफ्नो मन्त्रिमण्डलमा महिला समावेश गराउनुभयो, दलित नेतालाई महामन्त्री बनाउनुभयो र सबै जातजाति, भाषाभाषीलाई समेटेर संसद र मन्त्रिमण्डल बनाउनुभयो । यसरी नेपालमा समावेशिताबिना प्रजातन्त्र पूरा हुँदैन भन्ने कुरा उहाँले हामीलाई सिकाउनुभयो,’ थापाले भने ।
उनले थप भने कि जलवायु परिवर्तनको शब्दावली त्यसबेला प्रचलनमा नभए पनि बीपीले विकास, मानव कल्याण, सामाजिक न्याय र नैतिक जिम्मेवारीलाई आपसमा जोडेर दिगो विकासको आधार प्रस्तुत गरेका थिए ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, समावेशिता र सामाजिक न्यायका अवधारणाहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको थापाले बताए ।
