राजनिती

देश नाजुक अवस्थामा, राष्ट्रिय एकता अपरिहार्य छ : डा. शेखर कोइराला

By अर्जुन भट्टराई •

देश नाजुक अवस्थामा, राष्ट्रिय एकता अपरिहार्य छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको वर्तमान अवस्था अत्यन्त नाजुक र संवेदनशील रहेको बताउँदै राष्ट्रियता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

४४औँ वी.पी. स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘राष्ट्रियता अहिले एकदमै कमजोर अवस्थामा छ। राष्ट्रियता मजबुत नभइकन जतिसुकै लोकतन्त्रको कुरा गरौं, त्यसले फाइदा गर्दैन। राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर हिँड्नुपर्छ। वी.पी. कोइराला साहसका धनी थिए।’

उनले देशको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै भने, ‘नेपालको अवस्था अत्यन्त भयावह छ। हामी रहन्छौं, माटो यही रहन्छ, तर अवस्था नाजुक ढंगबाट गइरहेको छ। अब पनि हामी एकढिक्का भएर अगाडि बढ्न सकेनौं भने नेपाली कांग्रेसको के अवस्था हुन्छ, त्यो त हुन्छ नै। तर अहिले हाम्रो चिन्ता नेपाली कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको छ।’

डा. कोइरालाले सबै राजनीतिक शक्तिहरू राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुनुपर्नेमा पनि जोड दिए। देशलाई विद्यमान संकटबाट मुक्त गर्न उनले वी.पी. कोइरालाले २०३३ सालमा भारतबाट फर्किएपछि अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आत्मसात् गर्नुपर्ने बताए।

उनले भने, ‘वी.पी.ले ३३ सालमा भारतबाट फर्केर भनेको राष्ट्रिय एकता र मेलमिलापलाई मनन गर्दै हामी अगाडि बढ्न सक्यौं भने पक्कै पनि हाम्रो गन्तव्यमा पुग्न सक्छौं।’

कार्यक्रममा उनले संस्थागत सुदृढीकरणको विषयमा पनि धारणा राख्दै संस्थालाई अझ मजबुत बनाउने बारेमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.