लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ-नयाँ क्षेत्रमा फैलिँदै गइरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो संक्रमण अझै पूर्ण नियन्त्रणमा नआएको जनाएको छ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले दीर्घकालीन अस्थिरता, चलिरहेको द्वन्द्व र ठूलो संख्यामा विस्थापित तथा आवतजावत गर्ने मानिसहरूका कारण संक्रमण फैलिन अनुकूल वातावरण बनेको बताए। उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गराउन जनचेतना अभियान तीव्र बनाएका छन् र हालको मुख्य प्राथमिकता संक्रमणलाई थप फैलिनबाट रोक्नु नै हो।
डीआर कंगो सरकारले दिएको तथ्यांक अनुसार आइतबारसम्म इबोलाका दुई हजार ४२३ जना संक्रमित पुष्टि भएका छन्। तीमध्ये ९६७ जनाको मृत्यु भइसकेको छ भने ४६९ जना निको भएका छन्। हाल ७३४ जना उपचार वा निगरानीमा रहेका छन्।
सबैभन्दा चिन्ताजनक कुरा के छ भने अग्रपंक्तिमा काम गर्ने १२१ जना स्वास्थ्यकर्मी पनि यो संक्रमणबाट प्रभावित भएका छन्, जसमध्ये ३६ जनाको ज्यान गइसकेको छ।
इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा पनि संक्रमण पुष्टि भएपछि अहिले पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ, जसमध्ये ४६ क्षेत्रमा अझै सक्रिय संक्रमण कायम छ। गत मे १५ मा घोषणा गरिएको यो प्रकोपको केन्द्र इटुरी प्रान्त नै रहेको छ, जहाँ कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युका करिब ८० प्रतिशत घटना दर्ज भएका छन्।
जनसंख्याको निरन्तर आवतजावत, सुरक्षा चुनौती, अनौपचारिक खानी गतिविधि तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणमा थप कठिनाइ थपेको डब्ल्यूएचओले जनाएको छ। संक्रमण सीमापार नफैलियोस् भनेर डीआर कंगो र युगान्डाले सीमा क्षेत्र कासेनीमा सञ्चालित मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकन पनि गरेका छन्।
