काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको रक्षा गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व रहेको बताएका छन्।
जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै देउवाले भने कि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताको बीपीले अघि सारेको मार्ग आज पनि नेपालको राजनीतिक यात्राको प्रमुख मार्गदर्शक बनेको छ।
उनले भने, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादसहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ।’
बीपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्नु आफ्नो जीवनकै ठूलो सौभाग्य भएको उल्लेख गर्दै देउवाले छ दशकभन्दा बढीको आफ्नो राजनीतिक यात्रामा जेल, प्रतिबन्ध, दमन र कठिन परिस्थितिका बाबजुद लोकतन्त्र, संविधानवाद र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाएको बताए।
उनका शब्दमा, ‘मैले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्म आइपुग्ने यात्रामा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएँ। जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेक कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा मेरो अडान कहिल्यै परिवर्तन भएन। किनकि मेरो विश्वास सधैं एउटै रह्यो — प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदैन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन।’
स्वास्थ्य उपचारका क्रममा परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता र लोकतन्त्रप्रति केन्द्रित रहेको बताउँदै देउवाले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरे। साथै, बीपीले देखाएको लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनताको सर्वोच्चताको मार्ग अहिले पनि सान्दर्भिक र प्रेरणादायी रहेको उनको भनाइ छ। उनले बीपी कोइरालाको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।
