काठमाडौं। जलवायु परिवर्तन अब केवल वातावरणीय विषय मात्र नभई नेपालको अर्थतन्त्र, कृषि, ऊर्जा, पर्यटन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर मुद्दा बनिसकेको छ। यसको प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन नीति बनाउनुपर्ने, त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र हरित उद्यमलाई प्रोत्साहन दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा बुधबार आयोजना गरेको ‘द ग्रिन टेबल’ कार्यक्रममा जलवायु नीति विज्ञ, ऊर्जा नीति विश्लेषक, पर्वतारोही तथा हरित उद्यमीहरूले जलवायु परिवर्तनका चुनौती, प्रभाव र सम्भावित समाधानबारे आ-आफ्नो धारणा राखे।
**जलवायुलाई एउटा बुँदामा सीमित नगरौं: ढकाल**
जलवायु नीति विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तन कुनै एउटा क्षेत्रमा मात्र सीमित नभई कृषि, जलविद्युत् र पर्यटनलगायत नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको बताए। रेमिटेन्सजस्तो क्षेत्रमा समेत जलवायु परिवर्तनको अप्रत्यक्ष प्रभाव रहे पनि यसबारे पर्याप्त अध्ययन हुन नसकेको उनले बताए।
“जलवायु परिवर्तनलाई नीति तथा कार्यक्रम र बजेटमा एउटा बुँदामा मात्र सीमित राखेर पुग्दैन। यसले अर्थतन्त्रका सबै क्षेत्रमा पार्ने प्रभाव, आउँदो पुस्ताले भोग्नुपर्ने चुनौती र त्यसबाट सिर्जना हुन सक्ने अवसरलाई समेटेर नीति बनाउनु आवश्यक छ,” उनले भने।
ढकालले फोहोरमैला व्यवस्थापन पनि जलवायु परिवर्तनको एक महत्त्वपूर्ण स्रोत भएको उल्लेख गर्दै विकसित राष्ट्रलाई मात्र दोष दिनुभन्दा नेपालले आफ्नै फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्ने धारणा राखे।
**नवीकरणीय ऊर्जामा उपलब्धि, ब्याट्री रिसाइक्लिङ चुनौती: यादव**
ऊर्जा तथा नीति विश्लेषक अभिषेक यादवले नेपालले जलवायु कार्यान्वयन योजनाअन्तर्गत नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। जलविद्युत्, सौर्य ऊर्जा, विद्युतीय सवारी साधनको प्रयोग र वन संरक्षणमा सकारात्मक काम भइरहेको उनले जानकारी दिए।
“चुनौतीहरू अझै छन्, विशेषगरी विद्युतीय सवारीका ब्याट्रीको रिसाइक्लिङको विषय। तर ब्याट्री प्रविधि निरन्तर विकसित भइरहेको छ र भविष्यमा कम स्रोतसाधन प्रयोग गरेर पनि प्रभावकारी ब्याट्री उत्पादन हुने अवस्था बन्दै गएको छ,” यादवले भने।
**हिमाल आफ्नै आँखाले पग्लिरहेको देखिँदैछ: पूर्णिमा**
पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष रूपमा देख्न थालिएको अनुभव सुनाइन्। पहिले किताबमा पढिने र सुनिने विषय अहिले हिमाल आरोहणका क्रममा आँखाले नै देख्न सकिने अवस्थामा पुगेको उनले बताइन्।
“पहिले जलवायु परिवर्तनको असर १०-१५ वर्षपछि देखिन्छ भनेर पढ्थ्यौं। तर अहिले हिमाल चढ्दा आफ्नै आँखाले हिमालहरू बिस्तारै पग्लिरहेको देख्न सकिन्छ। मौसमको पूर्वानुमानअनुसार अवस्था नहुँदा अचानक धेरै हावा चल्ने, अत्यधिक हिमपात हुने जस्ता समस्या बढेका छन्। यसले हिमाल आरोहणलाई झन् जोखिमपूर्ण बनाइरहेको छ,” उनले भनिन्।
**जलवायु वित्तको जानकारी सहज बनाउनुपर्छ: डा. कार्की**
दन्त चिकित्सक, सामाजिक उद्यमी तथा वातावरण संरक्षण अभियन्ता डा. मनु कार्कीले हरित उद्यम सञ्चालन गरेको सात वर्ष बितिसक्दा पनि जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी जानकारी सहज रूपमा पाउन नसकेको गुनासो गरिन्।
“म हरित उद्यमी भएको सात वर्ष भयो। तर अहिलेसम्म जलवायु वित्त कहाँबाट पाइन्छ, कसरी आवेदन दिने भन्ने स्पष्ट जानकारी पाउन सकेकी छैन। यस्ता सूचनाहरू वेबसाइट र सार्वजनिक माध्यममार्फत सहज रूपमा उपलब्ध हुनुपर्छ। विशेषगरी मजस्ता महिला उद्यमीको पहुँचसम्म यो जानकारी पुग्नुपर्छ,” उनले भनिन्।
सूचना र वित्तीय पहुँचको अभावकै कारण धेरै हरित उद्यमीले अवसर गुमाइरहेको बताउँदै डा. कार्कीले नेपालमा उत्पादन नहुने कच्चा पदार्थ आयात गर्दा करमा सहुलियत दिनुपर्ने र यसले हरित उद्योगलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने धारणा राखिन्।
