काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता महेन्द्र राय यादवले बुधबार हुन लागेको उक्त कार्यक्रमबारे जानकारी दिए। उनका अनुसार कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सह-संयोजक माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन तथा प्रशिक्षण प्रदान गर्नेछन्।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा दिउँसो आयोजना हुने यो प्रदेशस्तरीय कार्यक्रममा प्रशिक्षण, एकीकृत समाजवादीसहित विभिन्न वाम घटकहरूसँगको एकता समायोजन तथा शपथग्रहण र नेताहरूको सम्बोधन रहने नेता यादवले बताए। कार्यक्रममा करिब १४०० भन्दा बढी नेता, कार्यकर्ता एवं पदाधिकारीहरू सहभागी हुने अपेक्षा छ।
नेकपाले मंसिरसम्म पार्टी अधिवेशन गर्ने निर्णय गरिसकेको छ। यस कार्यक्रममा पनि अधिवेशनसँग सम्बन्धित विषयवस्तु प्रस्तुत गरिने नेता यादवले जानकारी दिए। उल्लेखनीय छ कि नेकपाले यसअघि नै अन्य पाँच प्रदेशमा यस्तै प्रदेशस्तरीय प्रशिक्षण तथा एकताको सन्देश कार्यक्रम सम्पन्न गरिसकेको छ।
