काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि उत्पन्न भएको बताउँदै नेतृत्वले समयमै यो कुरा नबुझे जुनसुकै बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।
मंगलबार आयोजित एक पुस्तक सार्वजनिक कार्यक्रममा उनले यस्तो भने। गुरुराज घिमिरेकृत ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक सार्वजनिक गरिएको सो कार्यक्रममा बोल्दै थापाले घिमिरेले आफू र कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालाई लेखेको खुला पत्रमा कुण्ठा नभई प्रेम, करुणा र रचनात्मक आलोचना रहेको बताए।
उनले भने, ‘त्यो खुल्ला पत्रलाई राम्ररी पढ्दा पार्टीभित्रको अन्तरविरोध र राजनीतिक खिचातानी नदीका दुई किनाराजस्तो देखिन्छ। तर कहीँ पनि कुण्ठा भेटिँदैन, त्यहाँ भावना छ, करुणा छ।’
सभापति थापाले घिमिरेको लेखनशैलीले उनको व्यक्तित्व झल्काउने उल्लेख गर्दै आलोचना र निन्दाबीचको फरक स्पष्ट रूपमा देखिएको बताए। ‘हामीलाई लेखिएको पत्रमा प्रेम छ, करुणा छ, समभाव छ, आलोचना छ, तर निन्दा छैन। जिम्मेवारीमा बसेका मानिसप्रति प्रश्न उठ्नु स्वाभाविकै हो,’ उनले थपे।
दुवै पुस्तकका बारेमा बोल्दै थापाले भने, ‘सरसर्ती हेर्दा यी समसामयिक राजनीतिक टिप्पणीजस्ता लाग्छन्, तर यसमा राजनीतिक विकृतिले लेखकलाई दिएको गहिरो पीडा देख्न सकिन्छ। विकृतिले समाजमा तीव्र असन्तुष्टि ल्याएको छ, यही असन्तुष्टिले परिवर्तनको अपरिहार्यता स्थापित गर्यो। तर नेतृत्वले त्यसलाई बुझ्न सकेको छैन, त्यसैले कुनै पनि बेला विस्फोट हुन सक्छ।’
कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक र साहित्यिक योगदानको चर्चा गर्दै जेल जीवनले पनि उनको सिर्जनशीलता रोक्न नसकेको बताए। ‘राजा महेन्द्रले थुनेको जेलका चार पर्खालभित्र बसेर पनि बीपीले सुम्निमा र नरेन्द्र दाइ जस्ता कालजयी कृतिहरू सिर्जना गर्नुभयो,’ उनले भने। शर्माले बुद्ध र बीपीको त्यागको सन्दर्भलाई आजको राजनीतिसँग जोडेर हेर्नुपर्ने पनि बताए।
पुस्तकका लेखक गुरुराज घिमिरेले समाज र राजनीतिमा देखिएका विकृति तथा मुलुक गलत दिशातर्फ अघि बढिरहेको चिन्ताले नै आफूलाई यी लेखहरू लेख्न प्रेरित गरेको बताए। ‘सरकारहरूले राम्रोसँग काम गर्न सकेका भए यस्ता लेख लेख्नुपर्ने अवस्था आउने थिएन। तर दुर्भाग्यवश मुलुकलाई गलत दिशातर्फ लैजाने गति रोकिएन,’ उनले भने।
