काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको यस भेटमा दुई देशबिचको लामो कूटनीतिक सम्बन्धलाई स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भयो। शिक्षा क्षेत्रमा अमेरिकी सरकारबाट प्राप्त सहयोग, आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन र खेलकुद क्षेत्रमा सम्भावित सहकार्यबारे पनि कुराकानी भयो।
अमेरिका नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छ। विशेष गरी अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत अर्ली ग्रेड रिडिङ र लर्निङ कार्यक्रम तथा कलेज अफ एजुकेशनमा अमेरिकी सरकारको सहयोग जारी रहँदै आएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबिचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा झनै प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले वर्तमान सरकारले शिक्षा क्षेत्रमा विभिन्न सुधार गरिरहेको जानकारी दिँदै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको र सैद्धान्तिकभन्दा व्यावहारिक पाठ्यक्रम बनाउने दिशामा मन्त्रालय अगाडि बढेको बताए। साथै, विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने गरी काम भइरहेको पनि उनले जानकारी दिए।
मन्त्री पोखरेलले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अगाडि बढाइएको र सोही आधारमा आवश्यकता अनुसार विद्यालयहरूमा बजेट विनियोजन गरिने बताए। भौतिक पूर्वाधार, शैक्षिक सुविधा र शिक्षक तालिमजस्ता क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। थप्दै उनले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास र विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गरे।
कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि द्विपक्षीय समझदारीमार्फत आवश्यक सहयोग गर्न आफ्नो देश सकारात्मक रहेको बताए। नेपाल सरकारले थालेका सुधारका कार्यक्रमबारे अमेरिकी सरकार जानकार रहेको र त्यसमा सहयोग तथा सहकार्य गर्न अमेरिका सधैं तत्पर रहेको उनले स्पष्ट पारे। सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिकाको निरन्तर सहयोग रहने विश्वास पनि उनले व्यक्त गरे।
