काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को अन्तरले पराजित भएपछि इङ्गल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामले निराशा व्यक्त गर्दै पनि टोलीको प्रदर्शनप्रति गर्व महसुस गरेको बताएका छन्।
बेकह्यामले आफ्नो इन्स्टाग्राममार्फत लेखे, ‘यो हारले हामी सबैको मन दुखाएको छ। तर यो विश्वकपले प्रेरणा दिने र सधैं सम्झनामा रहने धेरै सुन्दर क्षणहरू दिएको छ। हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद।’
एटलान्टामा खेलिएको सो सेमिफाइनलमा इङ्गल्यान्डले ५५औँ मिनेटमा मोर्गन रोजर्सको पासमा एन्थोनी गोर्डनले गोल गर्दै पहिले अग्रता लिएको थियो। तर त्यसपछि रक्षात्मक भूमिकामा फर्किएको इङ्गल्यान्डमाथि अर्जेन्टिनाले लगातार दबाब बढायो।
खेलको ८५औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काए। त्यसपछि इन्जुरी समयमा मेस्सीले दिएको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई रोमाञ्चक २–१ को जित दिलाए।
यो जितसँगै साविक विश्वकप विजेता अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। फाइनलमा अर्जेन्टिनाको भिडन्त स्पेनसँग हुनेछ भने इङ्गल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।
