काठमाडौं । आज बुधबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू बिहानै सुरु हुनेछन्।
बिहान ८ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र यसले उपभोक्तामा पारेको प्रभावबारे छलफल हुनेछ।
बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्डसँग महत्त्वपूर्ण विषयहरूमा जानकारी लिइनेछ। आर्थिक वर्ष २०८२/८३ मा बोर्डले गरेका मुख्य कामकारबाही, धितोपत्र बजारको नियमन र विकासका लागि भएका प्रयास तथा उपलब्धि, र लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका कदमहरूबारे छलफल हुने कार्यसूची रहेको छ।
सोही समयमा अर्थात् बिहान ८:३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्नेछ। यस बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ।
