धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका चारै मन्त्रीहरूलाई एकसाथ बर्खास्त गरेका छन्।
बर्खास्त हुनेहरूमा भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउद रहेका छन्।
बर्खास्तीअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाई बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए। सरकारमै बसेर बजेटको विरोध गर्नु उचित नभएको भन्दै उनले तीन विकल्प दिएका थिए — बजेट पारित गर्न सहयोग गर्ने, सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने।
एमाले मन्त्रीहरूबाट सकारात्मक जवाफ नआएपछि मुख्यमन्त्री शाहले बर्खास्तीको निर्णय लिएका हुन्। अब उनी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा जुटेका छन्।
