खेलकुद

हामी आफ्नै क्षमताले सेमिफाइनल पुगेका हौं : अर्जेन्टिनी कोच स्कालोनी

By अर्जुन भट्टराई

हामी आफ्नै क्षमताले सेमिफाइनल पुगेका हौं : अर्जेन्टिनी कोच स्कालोनी

काठमाडौं । अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई पूरै नकार्दै भनेका छन् — टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमता र मेहनतले पूरा गरेको हो ।

इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले टोली पूर्ण तयार रहेको बताउँदै लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको स्पष्ट पारे । अमेरिकाको एटलान्टामा बुधबार हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डसँग भिड्नेछ । यस खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

लगातार ६ खेल जितेर सेमिफाइनलमा पुगेको टोलीको प्रदर्शनलाई कमजोर भन्नु उचित नहुने बताउँदै स्कालोनीले भने, ‘टोलीले मानिसहरूले भनेजस्तो खराब खेलेको छैन । हामी यहाँसम्म आइपुगेका छौं भने अवश्य नै केही सही गरेका छौं ।’

आफ्ना खेलाडीहरूको भूरि–भूरि प्रशंसा गर्दै उनले भने, ‘म आफ्ना खेलाडीहरूप्रति अत्यन्त आभारी छु । उनीहरूले हामीलाई तीनवटा उपाधि दिलाएका छन् र अहिले फेरि विश्वकपको सेमिफाइनलमा पु¥याएका छन् । अब हामी फाइनलबाट केवल एक कदम टाढा छौं र त्यसका लागि सबै शक्ति लगाउनेछौं ।’

समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराउँदै समूह विजेता बनेको अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । केप भर्डे र स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसम्म खेल्नुपरेको अर्जेन्टिनाले इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्थाबाट उक्लिँदै रोमाञ्चक जित हात पारेको थियो ।

खेल शैलीभन्दा नतिजा महत्वपूर्ण हुने धारणा राख्दै स्कालोनीले भने, ‘एक महिनाअघि कसैले जसरी भए पनि विश्वकपको सेमिफाइनल पुग्ने अवसर दिन्छ भने म तुरुन्त स्वीकार्थें । अहिले हामी सेमिफाइनलमा छौं, त्यसैले टोली कुन अवस्थामा छ भन्नेभन्दा जित महत्वपूर्ण हो ।’ उनले थपे कि खेलाडी थकित भए वा नभए पनि सबैजना सेमिफाइनलका लागि पूर्णतः उत्साहित र तयार छन् ।

यो अर्जेन्टिनाको लगातार चौथो विश्वकप सेमिफाइनल हो । अर्जेन्टिना यसअघि २०१४, २०१८ र २०२२ को विश्वकपमा पनि अन्तिम चारमा पुगेको थियो । स्कालोनीको नेतृत्वमा टोलीले २०२१ र २०२४ मा कोपा अमेरिका तथा २०२२ मा विश्वकपको उपाधि जितिसकेको छ ।

इंग्ल्यान्डविरुद्धको खेललाई लिएर १९८२ को फकल्याण्ड युद्धको प्रसंग उठाइए पनि स्कालोनीले त्यसलाई फुटबलसँग जोड्न नहुने बताए । उनले भने, ‘त्यो हाम्रो इतिहासको अत्यन्त दुःखद अध्याय हो । त्यसको सम्मान गर्नुपर्छ, तर यो एउटा फुटबल खेल मात्र हो । युद्ध र खेललाई मिसाउनु उचित हुँदैन ।’

अर्कातर्फ, इंग्ल्यान्डले क्वार्टरफाइनलमा अतिरिक्त समयमा नर्वेलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने सपना बोकेर मैदानमा उत्रनेछ भने अर्जेन्टिना उपाधि रक्षाको अभियानलाई अझ मजबुत बनाउन मैदानमा होमिनेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.