काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको विषयमा सभामुखले जतिसक्दो चाँडो निर्णय लिनुपर्ने माग राखेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले यो विषयमा महिनौँदेखि आपत्ति जनाउँदै आएको स्मरण गराउँदै अब सभामुखले आफ्नो विवेक, संसदीय नियम र मर्यादाका आधारमा ढिला नगरी निर्णय लिनुपर्ने बताए।
उनले भने, ‘सम्माननीय सभामुख महोदय, यो सदन हजुरको विवेकको निर्णय सुन्न चाहन्छ। हजुरको विवेकले के भन्छ? किनभने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति हामीले महिनौँदेखि निरन्तर आपत्ति जनाउँदै आएका छौँ। यो विषयमा सदनको बहुमूल्य समय खर्च भइरहेको छ।’
भाटले यस्तो अन्योलको अवस्था लामो समयसम्म कायम रहनु न संसदको गरिमाका लागि उचित हुने, न संसदीय कार्यसञ्चालनकै हितमा हुने बताए। उनले सभामुखसँग सम्मानपूर्वक आग्रह गर्दै सकेसम्म छिटो निर्णय लिई संसदलाई अनावश्यक गतिरोधबाट मुक्त गर्न र संसदीय कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउन पहल गर्न अनुरोध गरे।
