राजनिती

करार तथा अस्थायी कर्मचारी नहटाउन सांसद राजेन्द्र कुमार राईको सरकारसँग आग्रह

By अर्जुन भट्टराई •

करार तथा अस्थायी कर्मचारी नहटाउन सांसद राजेन्द्र कुमार राईको सरकारसँग आग्रह

काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन सरकारसँग आग्रह गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका ती कर्मचारीसँग आफूले गरेको संवाद सुनाए। उनले ती कर्मचारीको रोजगारी सुरक्षित गर्न सरकारको ध्यान खिच्न खोजे।

सांसद राईले भने, ‘हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै कर्मचारी साथीहरू भेला भएर छलफल गरिरहनुभएको थियो। मैले के भयो भनेर सोध्दा उहाँहरूले भन्नुभयो— हाम्रो जिन्दगी बितिसक्यो। हामी करार र अस्थायी कर्मचारी भएर राज्य र जनताको सेवा गरिरहेका छौं। तर नयाँ सरकारले मुलुक बनाउन आएको भन्दै हामीलाई निकाल्ने कुरा गरिरहेको छ। यसले हाम्रो जीवन बर्बादीतर्फ धकेल्छ।’

उनले सभामुखमार्फत सरकारसँग आग्रह गर्दै भने, ‘उहाँहरूलाई निकाल्नु हुँदैन। उहाँहरूको जीवन यही सेवामा बितेको छ। थुप्रै मानिसहरू रोजगारीको खोजीमा विदेश गइरहेको बेला यहीँ काम गरिरहेका दाजुभाइलाई नै निकाल्न थाल्यौं भने परिस्थिति झन् जटिल बन्छ।’

सांसद राईले सुकुम्बासीको उदाहरण दिँदै चेतावनी पनि दिए। उनले भने, ‘बिना तयारी सुकुम्बासीहरूलाई हटाइएकै कारण अहिले ठूलो समस्या बनेको छ, जसको समाधान गर्न सरकारलाई धौधौ परिरहेको छ। त्यसैगरी अस्थायी कर्मचारीलाई पनि बिना उचित व्यवस्था निकाल्यौं भने झन् जटिल समस्या सिर्जना हुन्छ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.