राजनिती

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको सरकारसँग माग

By अर्जुन भट्टराई •

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको सरकारसँग माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाका सडकहरूको दयनीय अवस्थाप्रति सरकारको ध्यान तान्दै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्तै जीर्ण भएकाले बिरामी र सुत्केरीलाई समेत अस्पताल पुर्याउन गाह्रो परेको बताए।

उनले भने, ‘इलामलाई एक समय हरित नगरी भनिन्थ्यो, तर आज त्यो हिलोमय इलाम बनेको छ। मेची राजमार्गको अवस्था यति दर्दनाक छ कि इलामबाट बिरामी वा सुत्केरी नागरिक झापाको अस्पतालसम्म आउन सक्ने स्थिति छैन। राजदरबारको बाटोखण्ड पनि उत्तिकै बेहाल छ।’

राईले इलाम–राजदरबार सडकखण्ड, माइजोगमाई खोलाको बेलीब्रिज, पुवाखोलाको बेलीब्रिज र सिमलगोल क्षेत्रका सडकहरू सुधारका लागि पटक–पटक सदनमा आवाज उठाए पनि सरकारले ध्यान नदिएको गुनासो गरे।

गत वर्षको प्राकृतिक विपत्तिपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि आवश्यक बजेट पूर्ण रूपमा उपलब्ध नगराइएको उनको भनाइ थियो। सन्दकपुर, माइजोगमाई, रोङ र सूर्योदय नगरपालिका उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले ती क्षेत्रमा अझै पनि बस्ती विस्थापनको खतरा कायमै रहेको बताए।

माइजोगमाई गाउँपालिका र आसपासका क्षेत्रमा नदी कटानका कारण खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले प्रभावित किसानलाई राहत दिन र नदी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरे।

सांसद राईले सन्दकपुर अस्पताल, सूर्योदय नगरपालिका–१२ देखि वडा नं. ३ जोड्ने सडक र माइपोखरी–ढापपोखरी–नयाँबजार सडकलगायत स्थानीय विकास आयोजनाहरू पनि अघि बढाउन सरकारसँग आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.