राजनिती

युवाको आशा निराशामा बदलिँदैछ : सांसद गीता गुरुङको प्रधानमन्त्रीलाई कडा प्रश्न

By अर्जुन भट्टराई •

युवाको आशा निराशामा बदलिँदैछ : सांसद गीता गुरुङको प्रधानमन्त्रीलाई कडा प्रश्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न र सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन माग गरिन्।

सांसद गुरुङले प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न आग्रह गरिन्।

उनले भनिन्, ‘संसदमा निरन्तर सम्माननीय प्रधानमन्त्रीज्यूको खोजी भइरहेको छ।’ उनले थपिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं हाम्रै पुस्ताको प्रतिनिधि हुनुहुन्छ। देशभरिका युवाले तपाईंप्रति ठूलो आशा गरेका थिए, त्यही आशाले तपाईंलाई आज प्रधानमन्त्रीको जिम्मेवारीमा पुर्‍याएको हो। तर दुःखका साथ भन्नु परेको छ, त्यो आशा बिस्तारै निराशामा बदलिँदैछ।’

गुरुङले पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्वको अपेक्षा राखिएकोमा सरकार त्यसमा खरो उत्रन नसकेको आरोप लगाइन्। उनले सरकार गम्भीर विषयमा जवाफ दिनुको सट्टा विषयान्तर गर्न र ‘सस्तो स्टन्ट’ प्रदर्शन गर्नतर्फ लागेको भन्दै कडा आलोचना गरिन्।

सुकुम्बासी बस्ती हटाउने विषयमा पनि उनले सरकारमाथि प्रश्न उठाइन्। पर्याप्त तयारी नगरी बस्ती हटाइएको र विस्थापितहरूलाई डुबानको जोखिम रहेको क्षेत्रमा नै स्थानान्तरण गरिएको उनको आरोप थियो। यस क्रममा नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरिन्।

सुकुम्बासी बस्ती हटाइएपछि भएका आत्महत्याका घटनाका लागि सरकार जिम्मेवार हुनुपर्ने धारणा राख्दै उनले प्रभावित परिवारको संरक्षण र राहतमा सरकार गम्भीर बन्नुपर्ने माग गरिन्।

गुरुङले मुगु, सर्लाही र काठमाडौंमा भएका आत्मदाहका घटनाको उल्लेख गर्दै युवाले देशमै भविष्य देख्न नसक्नु अत्यन्त चिन्ताजनक भएको बताइन्। देशमा बढ्दो महँगी, आर्थिक शिथिलता, वैदेशिक रोजगारीतर्फको बढ्दो आकर्षण, नागरिक असुरक्षा र अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढेको आरोप लगाउँदै उनले कर्णाली, दलित, मधेसी, महिला, जनजाति तथा सीमान्तकृत समुदायले राज्यबाट असुरक्षा महसुस गरिरहेको पनि बताइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.