काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर आज बिहान पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन् ।
जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित निङ्चीमा आयोजना हुने पाँचौं चीन–तिब्बत ट्रान्स–हिमालय अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन उपसभामुख ठाकुर आज बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत चीन गएकी हुन् ।
उनको टोलीमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेका छन् ।
यो अन्तर्राष्ट्रिय मञ्च असार ३१ देखि साउन २ गते अर्थात् १५ देखि १७ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा उपसभामुख रुवीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्नेछिन् । मञ्चमा हिमालय क्षेत्रको दिगो विकास, क्षेत्रीय सहकार्य तथा आपसी सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा उपसभामुख ठाकुर र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । त्यसका अतिरिक्त अन्य उच्चस्तरीय भेटघाटहरू पनि हुने बताइएको छ । प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते दिउँसो १२ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
