काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ।
एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै भने कि प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) को उल्लंघन गरेका छन्। उक्त नियमअनुसार सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न पाइँदैन।
सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओली आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसनअगाडिको भागबाट हिँडेका थिए।
‘माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले नियमको उल्लंघन गरेर हिँड्नुभएको छ। यस विषयमा नियमापत्ति गर्दै सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु र यसबारे रुलिङको माग गर्दछु,’ उनले बैठकमा भने।
महरले संसद्को मर्यादा र नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताउँदै सभामुखबाट आवश्यक निर्देशन दिइनुपर्ने माग गरे।
