खेलकुद

क्वार्टरफाइनलमा हारेर फर्किए पनि नर्वे टोलीलाई ओस्लोमा एक लाखभन्दा बढीको भव्य स्वागत

By अर्जुन भट्टराई

क्वार्टरफाइनलमा हारेर फर्किए पनि नर्वे टोलीलाई ओस्लोमा एक लाखभन्दा बढीको भव्य स्वागत

ओस्लो । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित भएर स्वदेश फर्किएको नर्वेली फुटबल टोलीलाई सोमबार ओस्लोमा अत्यन्त भव्य स्वागत गरियो।

रोयटर्सका अनुसार, एक लाखभन्दा बढी समर्थकहरू आफ्ना खेलाडीहरूलाई स्वागत गर्न सडकमा उत्रिएका थिए। टोली ओस्लो आइपुग्नासाथ परम्परागत ‘वाटर क्यानन सलामी’ दिइयो र त्यसपछि राजधानीमा खुला बसमार्फत भव्य परेड निकालियो।

हजारौं समर्थकहरू शाही दरबार (रोयल प्यालेस) वरिपरि र शहरको मुख्य सडक कार्ल योहान्स गेटमा भेला भएका थिए। खेलाडीहरूले सर्वप्रथम राजा ह्याराल्डसँग भेटघाट गरे र त्यसपछि दरबारको भर्याङबाट समर्थकहरूलाई अभिवादन गरे। युवराज हाकोनले ढोल बजाउँदै टोलीको पारम्परिक नाराको नेतृत्व गरे।

तर स्टार स्ट्राइकर एर्लिङ हालान्ड र मिडफिल्डर सान्देर बेर्गे भने कार्यक्रममा उपस्थित हुन सकेनन्। मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले यसको कारण स्पष्ट पार्दै भने, ‘अमेरिकाबाट फर्किने हाम्रो उडान चार घण्टा ढिलो भएकाले एर्लिङ र सान्देर (बेर्गे)ले आफ्नो अर्को विमान समात्न तुरुन्तै जानुप¥यो।’

टोलीका कप्तान मार्टिन ओडेगार्डले विश्वकपभरि समर्थकहरूले दिएको अभूतपूर्व साथप्रति हार्दिक आभार व्यक्त गरे।

खुला बस परेड विशाल भीडका कारण केही समय ढिलो भयो। एक चरणमा प्रहरीले भीड हटाउने क्रममा बसलाई पछाडि फर्काउनसमेत परेको थियो। सडकमाथि झुन्डिएका विद्युत् तथा सञ्चारका तारहरूका कारण माथिल्लो डेकमा उभिएका खेलाडीहरूलाई केहीबेर बस्न लगाइयो र त्यसपछि मात्र बसले यात्रा अघि बढायो।

यी सबै अवरोधका बाबजुद परेड अन्ततः सिटी हल स्क्वायर पुग्यो, जहाँ दशौं हजार समर्थकहरू नर्वेको ऐतिहासिक विश्वकप अभियानको सम्मानमा उत्सव मनाउन धैर्यपूर्वक प्रतीक्षा गरिरहेका थिए। नर्वेको राष्ट्रिय फुटबल टोलीले आफ्नो आधिकारिक एक्स अकाउन्ट ‘फोटबालान्ड्सलागेट’ मार्फत स्वदेश फर्किएको उत्सवको भिडियो पनि सार्वजनिक गरेको थियो। फुटबलको सबैभन्दा ठूलो मञ्चमा अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्ने यो टोलीप्रति सम्पूर्ण नर्वे राष्ट्रले गर्व महसुस गरेको यस स्वागत समारोहले स्पष्ट देखाएको थियो। (एएनआई)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.